Sat. May 18th, 2024

कोपा अमेरिकाको सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिनाले कोलम्बियाको सामना गर्दै

काठमाडौं, २०७८ असार २० गते आईतबार । ब्राजिलमा जारी ४७ औ कोपा अमेरिका फुटबलको सेमिफाइनलका लागिथ सबै समीकरण पूरा भएको छ । आज (आइतबार) बिहान अर्जेन्टिना र इक्वेडरबीचको क्वाटरफाइनल खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो ।

अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउदा अर्जेन्टिनासँगै साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन् ।

कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेलमा ब्राजिल र पेरु आमने सामने रहेका छन्

साविक विजेता ब्राजिलले जारी कोपा अमेरिकाको समूह चरणको पहिलो खेलमा भेनेजुयलाई ३-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा पेरुलाई ४-० ले पराजित गरेको ब्राजिलले तेस्रो खेलमा कोलम्बियालाई २-१ ले पराजित गर्दै अन्तिम खेलमा इक्वेडरसँग १-१ को बराबरी खेल्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । क्वाटरफाइनलमा बलियो प्रतिद्धन्द्धी चिलीलाई २-१ ले हराउदै ब्राजिल सेमिफाइनलमा पुगेको हो ।

यस्तै, ब्राजिलबिरुद्ध क्वाटरफाइनलमा उत्रिन लागेको पेरुले पहिलो खेलमा ब्राजिलसँग ४-० ले हार बेहारेको थियो भने दोस्रो खेलमा कोलम्बियालाई २-१ ले हराएको पेरुले तेस्रो खेलमा इक्वेडरसँग २-२ गोलको बराबरी खेल्दै समूहको अन्तिम खेलमा भेनेजुयलालाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो । क्वाटरफाइनलमा पाराग्वेलाई पेनाल्टीमा ४-३ ले हराउदै पेरु सेमिफाइनलमा पुगेको हो ।

ब्राजिल र पेरुबीचको सेमिफाइनल खेल ६ जुलाई मंगलबार बिहान ४ः४५ बज हुनेछ ।

यस्तै, कोपा अमेरिको दोस्रो सेमिफाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ ।

अर्जेन्टिनाले जारी कोपा अमेरिकाको समूह चरणको पहिलो खेलमा चिलीसँग १-१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा उरुग्वेलाई १-० ले पराजित गरेको थियो ।

तेस्रो खेलमा पाराग्वेलाई १-० ले हराएको अर्जेन्टिनाले अन्तिम खेलमा बोलिभियालाई ४-१ ले हराउदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । क्वाटरफाइनलको आफ्नो खेलमा इक्वेडरलाई ३-० ले हराउर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।

यस्तै, कोलम्बिया पहिलो खेलमा इक्वेडरमाथि १-० को जित हात पार्दै दोस्रो खेलमा भेनेजुयलासँग गोलरहित बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा २-१ पेरुसँग हारेको अन्तिम खेलमा पनि ब्राजिलसँग २-१ ले पराजित हुदै क्वाटरफाइनलमा पुगेको थियो ।

क्वाटरफाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले पाखा लगाउदै कोलम्बिया सेमिफाइनलमा पुगेको हो ।

कोलम्बिया र अर्जेन्टिनाबीचको सेमिफाइनल खेल ७ जुलाई बुधबार बिहान ६ः४५ हुनेछ । एजेन्सी 

Facebook Comments