Wed. May 1st, 2024

मनका स्वरहरू

- ज्ञानुवाकर पौडेल

काठमाडौं, २०७८ असार १९ गते शनिबार । 

जीवनको उकाली-ओराली गर्दैगर्दा व्यहोर्नुपरेका प्रतिकुल परिस्थिति र भोग्नुपरेका पीड़ा जब मनमा छड्किदै पाक्न थाल्छ, तब आम व्यक्तिहरू त यसलाई आफ्नो नियति ठानेर चुप लाग्लान् ! तर रामबाबु दाहाल जस्ता संवेदनशील र सामाजिक सरोकार राख्ने चेतनशील स्रष्टा भने चुप लागेर बस्न सक्दा रहेनछन् । कुनै न कुनै सृजनात्मक माध्यमबाट जीवनका हर्ष-बिस्मातसितका सरोकारका अनुभूति अभिव्यक्त गर्ने इच्छा जागिहाल्दो रहेछ । यसरी :-

“म नित्य हरेकदिन मनको अभिलाषा जिजीविषामा बाँचेको हुन्छु जिन्दगीको आयाम लघुताभाषको कात्रोमा रामनाम सत्य हो जीवनदेखि जीवनसम्म अनवरत मलामी हिंडीरहेछु ।”

विगत लामो समयदेखि पत्रपत्रिकाहरूको संपादन र रचनात्मक गतिविधीमा निकै सक्रिय देखिदैआएका रामबाबु दाहालको नविनतम् कविता संग्रह ‘ मनका स्वरहरू’ हालै पढन पाएँ । खुसी लाग्यो । निकट भविष्यमै आफ्नो मुक्तक संग्रह निकाल्ने तैयारीमा पनि रहेछन् । रामबाबुले दे़खाएको यो रचनात्मक छलांगको लागी बधाई पनि । समकालीन-वोधको नाममा कि त दलगत संलग्नता कि त सत्ताप्रतिको नपुंसक आक्रोशको प्रकटीकरण हुने गरेको छ अचेल । यो प्रवृत्तिबाट रामबाबु भने मुक्त रहेछन् । संग्रह भित्रका अधिकांश कविताहरूमा यिनका सामाजिक सरोकार दृष्टिगत हुनु ज्यादै प्रशंसनीय लाग्यो मलाई । जस्तै –

“समयको प्रवाहमा अविरल बग्दो छु म नदी झैं किनारासंग साथसाथै अविचल बग्दो छु म प्रात: मुहानबाट आकाश विचरण गर्दै एउटा क्रमिकता साँझको घाम झैं आकाशबाट रसातलमा डुब्दो छु म ।” यो संसार एक नदी हो । सुख-दु:ख नदीका दुई किनार हुन् । तसर्थ हरेकको जिन्दगी आफ्नै लय र रफ़्तारमा चलिरहेको यथार्थलाई यति संक्षिप्त आयतनको मुक्तकीय ढाँचाको कवितामा प्रष्ट्याउन सक्नु रामबाबुको खुबी हो ।

म यिनको यो सृजनशीलता निरंतर रहिरहोस् भंदै उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु !

(ज्ञानुवाकर पौडेल बरिष्ठ ग़ज़लकार हुनुहुन्छ ।)

Facebook Comments