Fri. Sep 20th, 2024

४५६ मेगावाट जडित क्षमताको विद्युत् आयोजना ‘यसै साता’ सञ्चालनमा आउने, सस्तो होला विद्युत् महसुल?

काठमाडौं, २०७८ असार १९ गते शनिबार । ४५६ मेगावाट जडित क्षमता भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजना अबको अढाई महिनाभित्र पूर्ण क्षमतामा सञ्चालनमा आउने अधिकारीहरूले जनाएका छन्।

त्यसको सुरुवात आगामी साताबाटै हुने बताइएको छ। ठूलो कुनै समस्या नआए “सोमवारबाटै ७६ मेगावाट विद्युत् उत्पादन सुरु हुनेु” र त्यसको वितरणका लागि प्रसारण लाइनको पनि व्यवस्था मिलाउने कार्य सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनु भयो।

दोलखाको बिगु गाउँपालिकास्थित निर्माणाधीन आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन हुने र बाँकी पाँच युनिट भने असोजको पहिलो सातासम्मा सञ्चालनमा आउने बताइएको छ।

गत वैशाखमा माथिल्लो तामाकोसी आयोजना निर्माणको कार्य “अस्वाभाविक ढङ्गले ढिलाइ गरिइएको टिप्पणी” प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । पछिल्लो दुई महिनामा परियोजनाको गतिले कसरी तीव्रता लियो त ?

शाक्य भन्नुहुन्छ “हामीले चैत मसान्तदेखि पेनस्टकमा आएको समस्या र सुरुङ बन्द गर्ने गेटमा आएको समस्यामा काम गर्‍यौ। यसैले गर्दा ढिलाइ भएको हो। यो सुरुमा अनुमान गर्न नसकिने खाले ढिलाइ थियो।”

प्राधिकरण आफैले पनि प्राविधिकहरू पठाएर र अन्य ठेकेदारहरूबाट समेत सहयोग लिएर पछिल्लो समय निर्माण कार्यलाई तीव्रता दिइएको अधिकारीहरूको भनाइ छ।

ढल्केबर देखि तामाकोसीसम्म ‘ग्रिड’ जोड्ने काम भइसकेको र मङ्गलवार देखिनै प्रसारण लाइन ‘चार्ज’ गर्ने कार्य सुरु भएको प्राधिकरणले जनाएको छ।

शाक्य सहितको टोली यसै हप्ता आयोजना पुगेर अनुगमन गरेको थियो। “अन्तिम केही चिजहरू छन् त्यो चाहिँ सोमवार सम्ममा पक्कै हुन्छ भन्ने छ,” उहाँले भन्नुभयो ।

पूर्ण क्षमतामा चल्दा ४५६ मेगावाट उत्पादन हुने भए पनि आवश्कयता अनुसार एउटा मात्रै युनिट चलाएर लगभग १० मेगावाटदेखि अधिक्तम क्षमतासम्म विद्युत उत्पादन गर्न सकिने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।

प्राधिकरणका अनुसार यस अघि पठाइएको तालिका अनुसार हरेक १५ देखि २० दिनको अन्तरालमा नयाँ युनिट सञ्चालनमा आउन सक्ने भए पनि पछिल्लो समय भने गति बढाएर १५ दिनमा सक्ने बनाइएको छ।

“सोमवार वा मङ्गलवार जहिले हामी परीक्षण गर्छौ त्यसपछिको दुई अढाइ महिनामा हामीले छ वटा युनिट सञ्चालन गर्न सक्छौँ, “शाक्यले भने। बिबिसी

Facebook Comments