असार र असारे गीतको महत्व (असारे गीत सहित)
- असार लाग्यो
काठमाडौं, २०७८ असार १ गते मंगलबार ।
बर्खैमा लाग्यो खोला र खोली बगेछ लेउझार
पुरबै ढोका खोलेर हेर्दा लागेछ असार !
असार लागेपछि गाउँगाउँमा असारे फूल रातै भएर छपक्कै फूल्छ । त्यसैबेला खेतीपातीको काम सुरु हुन्छ अनि गीतको रन्को फुट्न थाल्छ । त्यही रन्को हो असारे गीत । असार-साउनमा रोपाईँका बेला गाईने भएकोले यो गीत महत्वपूर्ण कर्मगीत वा श्रमगीतका रुपमा प्रसिद्ध छ ।
असारमा गाईने गीतबारे महाकवि देवकोटाका शब्दचित्र उत्रन्छन्-“यहाँ गाना थियो, कविता थियो । आँसुकविहरुको कलम त्यत्ति छिटो चल्न सक्तैनथ्यो, जत्तिको यिनका जिब्राको सरस्वती । एकातर्फ प्रश्न उठ्थ्यो; अर्कोतर्फ तत्काल उचित जवाफ आउँथ्यो, फेरी लयदार सुरिलो छन्दमा” नेपाली जीवनमा महिमासाली धर्तीसँग सम्बद्ध अनेक अभिव्यक्ति प्रकट भएका पाईन्छन् । अन्न दिने माटालाई आमा र श्रमको प्रतिक ढुंगालाई देवताका रुपमा मान्ने चलन ऊनीहरुको छ । रोपाईँ गर्दा पनि हातमा वीउ लिएर माथिल्लो गराको मुहानमा फूल-अक्षता र वीउले पूजेपछि रोपाईँको खेवारा हुन्छ । साथसाथै असारे गीत पनि घन्कन थाल्छ-
एकै र मुरी खरको घाँस भेडीको थुमेलाई ।
पहिलो चरण अरुलाई होईन धर्तीको भूमेलाई
त्यसवेला रामायणको कथामा आधारित गीत गाईन्छ भने भकारी राख्ता पनि गीत नै गाईन्छ । रामायणको कथामा आधारित गीतले लच्छिनको संकेत गर्छ अनि भकारी राख्ने गीत पनि पूजाआजासँगै सम्बन्धित छ । रोपाईँ गर्दा धान रोप्तै गएपछि खले गरामा पुगेर भकारी राख्ने चलन छ । भकारी राख्ता भकारी राख्ने नाईकेनी रोपारले घुमी–घुमी धान रोप्तै गीत गाउने गर्छन । यसरी रामायणको कथा उनिएको जति तन्काए पनि तन्किने गीत र भकारी राख्ता गाईने असारे गीतका दुई टुक्रा नमुना हुन्-
आकाशैभरी बादलु बस्यो पानी है पर्नलाई
लंका बाट रामण झर्यो सीतालाई हर्नलाई
सिरुमा पाते खुकुरी मेरो पित्तले कमानी
रामकी सीता रामणले हर्दा को थियो जमानी ?
असारे गीत बर्खे झरीमा रुझेर होस् वा हिलोमाथि खेलेर होस् हली, बाउसे, रोपाहार जो सुकैले सुरिलो भाकामा गाउँछन् । गीत-संगीतका सुरमा माटोसँग खेल्दा अरु कुराको वास्ता नै हुँदैन । प्रकतिमा भिजेको कण्ठबाट यसरी गीतको लहरी चल्छ त्यही लहरीको सुरमा रोपाईँको मेलो पनि अघि सर्दै जान्छ ।
धान है रोप्नु छुपु र छुपु असारको मासमा
राजाको बेठी म कन्ने केटी बाँच्नु छ आसमा
बाबा र ज्यूको यो गैरी खेत पानी है छिरुवा ?
माथैमा लाऊँ कि हातैमा लाऊँ कि बाबरी विरुवा ?
छुपुमा छुपु खेत है रोप्नु हातैमा विउ छउन्जेल
राम्रैमा लाउँला मीठैमा खाउँला यो जीवन रहुन्जेल ।
(कृष्णप्रसाद पराजुलीको नेपाली लोकगीतको आलोक पुस्तकबाट साभार ।)