Fri. Sep 20th, 2024

खोप सहयोगका लागि राष्ट्रपति भण्डारीद्वारा अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र

काठमाडौं, २०७८ जेठ १५ गते शनिबार । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेर नेपाललाई काेराेनाविरुद्धकाे खोप सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाउनुभएको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमा पुगेर वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई हस्तान्तरण गर्नुभएको अमेरिकामा रहेको नेपाली दूतावासले जनाएको छ ।

भेटमा राजदूत खतिवडाले अमेरिकी सहयोगमा विश्वका विभिन्न देशले सुविधाका रूपमा पाउने एस्ट्राजेनेकाको खोपमा पनि सहजीकरण गरिदिन अनुरोध गर्नुभएको दूतावासले जनाएको छ । जवाफमा मसिन्गाले अमेरिकी सरकारको नेपालको वर्तमान महामारीलाई लिएर गहिरो सहानुभूति रहेको बताएको दूतावासले जनाएको छ ।

यस अघि परराष्ट्र मन्त्रालयले पनि अमेरिकाको जोन्सन एन्ड जोन्सनको खोप ५० लाख डोज खरिद गर्न पनि पत्राचार गरिसकेको छ । राष्ट्रपति भण्डारीले यस अघि भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेर तथा चिनियाँ राष्ट्रपति सी जिनफिङसँग टेलिफोन संवादमा खोपका लागि सहयोग गर्न अनुराेध गरिसक्नुभएको छ । उज्यालो अनलाईन

Facebook Comments