Fri. Sep 20th, 2024

सर्वदलीय बैठक आज विहान ११ बजे बालुवाटारमा बस्दै

काठमाडौं, २०७८ बैशाक ४ गते शनिबार । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफलका लागि संसद्मा रहेका राजनीतिक दलहरूको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुलुकको विद्यमान राजनीतिक परिस्थितिबारे सल्लाह, सुझाव र छलफलका लागि बैठक डाकिएको हो ।”

विघटित प्रतिनिधि सभा पुनस्र्थापना र नेपाल कम्युनिष्ट पार्टीमा आएको विभाजनपछि मुलुकको राजनीतिमा अन्योल देखापरेको छ । यस्तो स्थितिमा प्रधानमन्त्री ओलीले डाक्नुभएको संसद्मा रहेका दलहरूबीचको सर्वदलीय बैठकलाई राजनीतिक दलका नेताहरूले सकारात्मक रूपमा लिनुभएको छ ।

संसद्को हिउँदे अधिवेशन, कोभिड-१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यालगायत विषयमा दलहरूको सुझाव लिन बैठक डाकिएको जनाइएको छ । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरू संसद्मा छन् । गोरखापत्र

Facebook Comments