Mon. Apr 29th, 2024

ग्रेटर नेपाल दुर्गाप्रसाद तिम्सिनाको पक्षमा लड्ने

काठमाडौं, २०७७ चैत २७ गते शुक्रबार ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतको कलकत्तास्थित जेलमा बिना सुनुवाइ ४१ वर्ष थुनामा परेर करिब ३ हप्ता अघि मुक्त हुनुभएका दुर्गाप्रसाद तिम्सिनाको पक्षमा लड्ने बताउनु भएको छ । साथै नेपालले इलाम, लुम्बाकस्थित दुर्गाप्रसादको घरमै पुगेर उहाँलाई पाँच हजार रूपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । केही व्यक्ति र संस्थाले सहयोग गर्ने भने पनि हालसम्म सहयोग गरेको नदेखिएकाले उहाँलाई सबै नेपालीले सहयोग गरून् भनी आफुले सांकेतिक रूपमा थोरै रकम भए पनि उपलब्ध गराएको बताउनु भयो ।

मोर्चाका अध्यक्ष नेपालले एउटा निर्दोष नेपालीलाई ४१ वर्षसम्म जेलमा कठोर यातना दिएर राख्नु सोच्नै नसकिने घटना भएको बताउँदै दुर्गाप्रसाद तिम्सिनामाथि भएको ज्यादती उजागर गरेर भारतीय जेलमा सुधार ल्याउन दबाब दिने उद्देश्यले आफू उहाँको शारीरिक तथा मानसिक अवस्था बुझ्न र दुर्गाप्रसादलाई घरमै भेट्न गएको भ्वाईस अफ काठमाडौंलाई बताउनु भयो । मोर्चाले स्थलगत अध्ययन प्रतिवेदन गृहमन्त्री र राष्ट्रिय मानवअधिकार आयोगलाई बुझाउने अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

Facebook Comments