Mon. Apr 29th, 2024

ताइवानमा सुरुङभित्र रेल दुर्घटना कम्तीमा ३४ जनाको मृत्यु

काठमाडौं, २०७७ चैत २० गते शुक्रबार 

ताइवानमा झन्डै ३५० जना यात्रु सवार एउटा रेल सुरुङभित्र पटरीबाट बाहिर निस्किएपछि भएको दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। रेलभित्र अझै दर्जनौँ मानिस फसिरहेको बताइएको छ।

ताइवानको केन्द्रीय आपत्कालीन सेवा निकायका अनुसार उद्धारकर्ताहरू “नराम्रोसँग क्षति पुगेका” चारवटा डिब्बासम्म पुग्न सङ्घर्ष गरिरहेका छन्। उक्त रेल राजधानी ताइपेईबाट ताइतुङतर्फ गइरहेको थियो।

त्यसमा दर्जनौँ पर्यटकहरू पनि भएको ‍बुझिएको छ । उनीहरूमध्ये अधिकांश पुर्खाहरूको सम्मानमा मनाइने एउटा पर्वमा सहभागी भइरहेका थिए। उक्त रेल स्थानीय समयानुसार बिहानको ९ बजे पटरीभन्दा बाहिर निस्किएको ठानिएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार निर्माणकार्यमा प्रयोग भएको एउटा सवारीसाधन रेलमार्गमा आएपछि उक्त दुर्घटना भएको हो। स्थानीय सञ्चारमाध्यमले ज्यान गुमाउनेमध्येमा रेलका चालक पनि रहेको उल्लेख गरेका छन्। ताइवानका राष्ट्रपतिले दुर्घटनाग्रस्त रेलमा फसिरहेका मानिसहरूको उद्धार सरकारको उच्च प्राथमिकता भएको उल्लेख गर्दै विज्ञप्ति जारी गर्नु भएको छ । बिबिसी

Facebook Comments