Fri. Apr 26th, 2024

भृकुटीमण्डपमा धारा खोलेर राष्ट्रपति भण्डारीद्वारा मेलम्चीको पानी वितरण कार्यक्रम शुभारम्भ

काठमाडौं, २०७७ चैत २० गते शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १५ गते उपत्यकाबासीको धारामा झरेको मेलम्चीको पानीको औपचारिक उद्घाटन भएको छ । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीद्वारा तीनवटा ढुंगेधारासहित निर्माण गरिएको स्मारकमा धाराको टुटी खोली उद्घाटन गर्नुभएको हो । अब सो सार्वजनिक ढुंगेधाराको पानी सर्वसाधारणाले उपभोग गर्न पाउनेछन् । ढुंगेधारा नजिकैको पानीको फोहोराको पनि राष्ट्रपति भण्डारीले स्वीच थिची औपचारिक उद्घाटन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बहुप्रतिक्षित मेलम्ची खानेपानी राजधानीबासीका लागि नयाँ उपहार भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले बढ्दो जनसंख्याका कारण खानेपानी समस्या देखिदै आएकोमा मेलम्चीको पानीले नागरिकलाई खुशी प्रदान गरेको बताउनुभयो ।
उहाँले विकास निर्माणमा यदाकदा अवरोध सिर्जना हुनु चिन्ताको विषय भएपनि सरकार र सम्बन्धित सबैले देश विकासको विषयमा सबै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापा स्वास्थ्य प्रतिकूलताका कारण कार्यक्रममा उपस्थिति हुँन सक्नु भएन। खानेपानी मन्त्रीमार्फत दृश्य सन्देश भने प्रवाह भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम सम्पन्न हुँनु काठमाडौं उपत्यकाबासीको लागि एक पर्व भएको बताउनुभएको छ । पहिलो चरणमा मेलम्चीको १७ करोड लिटर पानी आएसँगै वर्तमान सरकारकै पालामा याङ्ग्री र लार्केको पानी काठमाडौ आउनुपर्ने अपेक्षा पनि काठमाडौंबासीको रहेको उहाँले बताउनुभयो ।

मेयर शाक्यले आफूले आफ्नो नेतृत्वमा मेलम्चीको पानी काठमाडौं आउने प्रतिबद्धता जाहेर गरेको ४ वर्षपछि काठमाडौंमा मेलम्चीको पानी आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्नुहुन्छ, त्यो गर्नुहुन्छ र जे गर्नुहुन्छ, त्यो बोल्नुहुन्छ भन्दै बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम पनि छिटोभन्दा छिटो सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली लगायत अधिकांश मन्त्रीहरुको उपस्थिति रहेको थियो । सरकारका विभिन्न ओहोदाका प्रमुखहरुको पनि सहभागिता रहेको थियो ।

तस्बिर: सुजन गुरूङ्ग, गोरखापत्र

Facebook Comments