Mon. Apr 29th, 2024

म्यानमारमा सैनिक शासन विरुद्ध प्रदर्शन गर्नेहरुमाथि गोली प्रहार, १८ जनाको मृत्यु

काठमाडौं, २०७७ फागुन १६ गते आईतबार

म्यानमारमा सैनिक ‘कु’को विरोध गरिरहेकामाथि सेनाले गोली चलाउँदा १८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको कार्यालयले आजको दिनलाई सैनिक ‘कु’को विरोधमा भइरहेको र्‍यालीको सबैभन्दा घातक दिन भनेको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गरिरहेको छ ।

सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न माग गर्दै म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनसमेत देशका सबैजसो शहरमा दिनहुँ ठुल्ठूला प्रदर्शन भइरहेका छन् ।

यसै महिनाको सुरुमा सत्ता हत्याएपछि सेना र प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली, अश्रुग्यास र पानीका फोहोरा हान्ने गरेका छन् । जनताको शान्तिपूर्ण आन्दोलनलाई निर्मततापूर्वक दमन गर्न सेनाले व्यापक सैन्य परिचालन र धरपकड गरे पनि सेनाविरुद्धको प्रदर्शन रोकिएको छैन ।

आइतबार बिहानदेखि ठूलो संख्यामा मानिस सडकमा उत्रिएका थिए । यङ्गुन, डावेई र मङ्डालेमा चलेको गोली लागेर प्रदर्शनकारी मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार अघिसम्म कम्तीमा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ । भीड नियन्त्रण गर्नेक्रममा एक प्रहरी अधिकारीको पनि मृत्यु भएको सेनाले जनाएको छ ।

म्यानमारमा सेनाले गत १ फेब्रुअरीमा तत्कालीन राष्ट्रपति र आङ सान सु चीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको थियो । सेनाले राष्ट्रपति र सुकी दुवैलाई नजरबन्दमा राखेको छ भने सत्तारुढ नेसनल लिग फर डेमोक्रेसीका कैयौँ नेतालाई गिरफ्तार गरेको छ । सेनाको उक्त कदमको संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र अरु कैयौँ देशले विरोध गरेका छन् । एजेन्सी

Facebook Comments