गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानको अनुगमन, बिरामीलाई दुःख दिने बिचौलिया नियन्त्रण गर्न निर्देशन
सुनसरी । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राख्नुभयो ।
गृहमन्त्री गुरुङले बिरामीको हित, स्वास्थ्य सेवा र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । उहाँले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउनेजस्ता गतिविधि नियन्त्रण गर्न पनि निर्देशन दिनुभयो ।
त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, सुधारका प्रयास र भावी योजनाबारे जानकारी गराउनुभएको थियो । त्यसक्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनको अवस्थाबारे जानकारी लिनुभयो । उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि उहाँले निर्देशन दिनुभयो ।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका-१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गर्नुभयो । उहाँ आजै इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ । रासस

