Thu. Jan 2nd, 2025

नेकपा ओली समूहको बृहत् जनसभा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम

काठमाडौं, २०७७ माघ २३ गते शुक्रबार

ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज शुक्रबार बृहत् जनसभा आयोजना गर्दैछ ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो ।

मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्नुहुनेछ । सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ ।

नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने जानकारी दिनुभयो । सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन् । पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको कमिटीका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । सभा सम्पन्न गर्न जिल्ला, पालिका र वडास्तरीय परिचालन कमिटी गठन गरिएको छ । प्रदेश कमिटीले सभाको तयारीस्वरुप बुधबार काठमाडौँमा १० हजार मोटरसाइकलको -याली गरिएको थियो । रेडियो नेपाल

Facebook Comments