बूढीगण्डकी बाढी अपडेट : २७ जनाको हेलिकोप्टरबाट उद्धार, १० जना सम्पर्कविहीन
- न्याकफेदी र यारुबगरबाट २७ जनाको उद्धार ।
- बाढीले दुई मोटरेबल र चार झोलुङ्गे पुल बगायो ।
- गोरखाका विभिन्न स्थानमा करिब १०० घरमा क्षति ।
गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीमा फसेका २७ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका-३ न्याकफेदीमा फसेका नौ जनालाई उद्धार गरी न्याकगाउँ लगिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार धार्चे गाउँपालिका-१ यारुबगरमा फसेका एक विदेशी नागरिकसहित १८ जनाको पनि उद्धार गरिएको छ । पर्यटक, स्थानीयवासी र जलविद्युत् आयोजनामा कार्यरत उनीहरूलाई उद्धार गरी हुल्चुक गाउँमा लगिएको उहाँले बताउनुभयो ।
बाढी प्रभावित चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार आज बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित उङ्गिलुङ खोलाबाट आएको बाढीले हालसम्म दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ । बाढीले उङ्गिलुङ खोला क्षेत्रमा रहेका चारवटा गोठ पनि बगाएको छ ।
बूढीगण्डकी किनारका सल्लेरी, घट्टेखोला, पैँयु, दोभान र बगरका करिब ५० घरमा क्षति पुगेको छ । त्यस्तै, धार्चे गाउँपालिकाको माछिखोला, यारुबगर र दोभानका करिब ३५ घर तथा आरुघाट गाउँपालिकाको सोतीका करिब १५ घरमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।
बाढीका कारण उङ्गिलुङ गोठमा बस्ने पाँच जना र धाउनेमा तीन घरका पाँच जना गरी १० जना सम्पर्कविहीन भएका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । रासस

