२०८३ आश्विन २३, शुक्रवार

नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङ खुला, बिहानैदेखि यात्रुको घुइँचो

       
  • लामो तथा मध्यम दूरीका सवारीको अग्रिम टिकट बुकिङ सुरु ।
  • देशभरका गन्तव्यका लागि टिकट खुला ।
  • चाडपर्वमा सुरक्षा व्यवस्था कडा, सादा पोशाकमा प्रहरी परिचालन ।

काठमाण्डू । चाडपर्वलाई लक्षित गर्दै आजदेखि अग्रिम टिकट बुकिङ खुला भएसँगै काठमाडौँको नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रुको घुइँचो लागेको छ । लामो तथा मध्यम दूरीका सवारीसाधनको टिकट लिन यात्रु बसपार्क पुगेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार देशभरका सबै गन्तव्यमा जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

यसैबीच, चाडपर्वका बेला आपराधिक गतिविधि हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर बसपार्क क्षेत्रलगायत अन्य स्थानमा पनि शान्तिसुरक्षाको व्यवस्था सुदृढ पारिएको छ । प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शङ्कर श्रेष्ठले सुरक्षाका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको राससलाई जानकारी दिनुभयो ।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच गत मङ्गलबार भएको छलफलले चाडपर्वलक्षित यातायात सेवाका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । रासस

Facebook Comments