Fri. Sep 20th, 2024

काठमाडौं बाहिरबाट पनि सुन वितरण गर्न बैंकर्स संघ सहमत

काठमाडौं, २०७७ माघ १७ गते शनिबार

नेपाल बैंकर्स संघ काठमाडौं उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न सहमत भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघका पदाधिकारीबीच बिहीबार भएको छलफलमा यस्तो सहमति भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघबीचको छलफलका क्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं उपत्यका बाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीहरुले दुःख खेप्नु परेको भन्दै यथासिघ्र उपत्यका बाहिरका तोकिएका स्थानहरुबाट समेत सुन वितरणको व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो । त्यस क्रममा बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाललगायत संघका पदाधिकारीहरुले व्यवसायीको मागप्रति आफूहरु सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन संघ तयार रहेको बताउनु भयो ।

नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समाबेस गरिसकेको छ । यद्यपी सो विषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । जसका कराण उपत्यका बाहिरका व्यवसायी सुन खरिदका लागि काठमाडौंमा आउनुपर्ने झन्झट कायम छ ।

छलफलका क्रममा व्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकहरुबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यारुलाई सल्टाएर सहजरुपमा विधिसम्मत तरिकाले आ-आफ्नो जिम्मेवारी पूरा गर्न आफूहरु तयार रहेको संघका पदाधिकारीहरुले बताए । राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार बैंकर्स संघको सिफासिरमा बैंकहरुले विदेशबाट कच्चा सुनको आयात गरी महासंघको सिफासिरमा व्यवसायीहरुलाई सुन उपलब्ध गराउँदै आएको छ ।

मोफसलका जिल्लहरुबाट सुन वितरण गर्दा ढुवानी खर्च मात्रै काठमाडौंको भन्दा बढी लिने, मोफसलका जिल्लाहरुमा पनि सुनको स्टक राख्ने, बैंकहरु पिच्छे फरक फरक हुँदै आएको दरभाउमा एकरुपता ल्याउने, सुन खरिद गर्न बैंकहरुले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धि गरी पर्याप्त मात्रामा आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले पहल गर्नेलगायतका विषयमा छलफल भएको थियो । कारोवार दैनिक

Facebook Comments