२०८३ भाद्र २६, शुक्रवार

बाढीको प्रभाव: उत्तरी नाका बन्द भएपछि वीरगन्जबाट आयात ७० प्रतिशत बढ्यो

       
  • उत्तरी नाका बन्द भएपछि वीरगन्जबाट आयात बढेको भन्सारको भनाइ ।
  • चाडपर्वका सामग्रीसँगै चीनबाट आयात हुने सामान पनि वीरगन्ज आउन थाले ।
  • भदौ २४ गतेसम्म लक्ष्यको ९३.३७ प्रतिशत राजस्व सङ्कलन ।

बारा । भोटेकोशी बाढीपछि रसुवा र तातोपानी भन्सार नाका अवरुद्ध हुँदा वीरगन्ज नाकाबाट दैनिक हुने आयात ७० प्रतिशत बढेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार उत्तरी नाका अवरुद्ध भएपछि चीनबाट आयात हुने कतिपय मालवस्तु नाका परिवर्तन गरी वीरगन्जबाट भित्रिन थालेका छन् । यससँगै चाडपर्व लक्षित सामानको आयातसमेत बढेको उहाँले बताउनुभयो ।

“दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिएसँगै लत्ताकपडा, जुत्ता, सजावटजन्य सामग्री, ड्राइफ्रुट, चकलेटलगायतका मालवस्तु ल्याउँदा आयात बढ्नु स्वाभाविक हो”, उहाँले भन्नुभयो, “अन्य महिनाको तुलनामा दसैँमा आयात बढ्ने नै हो, तर यसपटक उत्तरतर्फका प्रमुख दुई नाका अवरुद्ध हुँदा वीरगन्जमा दबाब बढेको छ ।”

उत्तरी नाका अवरुद्ध रहेको अवस्थामा व्यापारीले दक्षिणी नाकाबाट भए पनि चाडपर्व लक्षित सामान आयात गरिरहेको उहाँले बताउनुभयो । दसैँ तथा अन्य पर्वका लागि बुकिङ गरिएका सामान नाका परिवर्तन गरेर भए पनि ल्याउन थालिएको उहाँको भनाइ छ ।

लामो समयसम्म यही अवस्था कायम रहे भन्सार कारोबार बढेर लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुने उहाँले बताउनुभयो ।

वीरगन्ज भन्सारअन्तर्गतको सिर्सिया सुक्खा बन्दरगाहबाट रेलमार्फत चीनबाट आयात भएका केही सामानसमेत भित्रिन सुरु भएको छ । चाडपर्व लक्षित सामानसँगै इन्धन, सवारीसाधन, निर्माणजन्य सामग्री, खाने तेललगायतका मालवस्तुको आयात नियमित रहेकाले भदौ महिनामा वीरगन्ज भन्सारको राजस्व असुली उत्साहजनक रहेको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो ।

“आयातको मात्रा बढेकै कारण राजस्व असुलीमा पनि सुधार देखिएको छ”, उहाँले भन्नुभयो, “अहिले दैनिक ७० प्रतिशतले राजस्व असुली बढेको तथ्याङ्क छ ।”

भदौ महिनाको राजस्व असुली लक्ष्य २३ अर्ब ५२ करोड रुपैयाँ रहेकोमा भदौ २४ गते बुधबारसम्म ९३ दशमलव ३७ प्रतिशत राजस्व सङ्कलन भइसकेको उहाँले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा वीरगन्ज भन्सार कार्यालयले दुई खर्ब ९३ अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य पाएको छ । भोटेकोशी बाढीपछि सुरुमा राजस्व असुलीमा केही कमी आए पनि अहिले चिनियाँ सामग्रीसमेत भित्रिन थालेपछि राजस्व सङ्कलनमा उत्साहजनक सुधार आएको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो ।

यसैबीच, भोटेकोशी बाढीका कारण राजधानी काठमाण्डू भित्रिने मुख्य सडक अवरुद्ध भएपछि मालवाहक ठूला सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्नुपरेको छ । एउटा कन्टेनरबाट ल्याइएका सामान तीन वटा सवारीसाधनमा राखेर ढुवानी गर्नुपर्ने अवस्थाले चाडपर्वका बेला बजार मूल्य बढ्न सक्ने भन्दै उपभोक्तावादी सङ्घसंस्थाले चिन्ता व्यक्त गरेका छन् ।

विपद्का कारण सडक तथा ढुवानी यातायातमा आएको समस्यालाई देखाएर मनपरी मूल्य बढाउन सक्ने आशङ्का रहेकाले बजार अनुगमनमा जोड दिन र उपभोक्ता स्वयं सचेत हुन सङ्घसंस्थाले अनुरोध गरेका छन् । रासस

Facebook Comments