बाढीले निजी क्षेत्रमा पारेको क्षति र प्रभावबारे विश्व बैंकको चासो: महासङ्घका अध्यक्ष श्रेष्ठ र विश्व बैंक टोलीबीच छलफल
भिओके समाचार/काठमाण्डू । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गाफुर मिडियावाबीच भेटवार्ता भएको छ। महासङ्घ सचिवालय टेकुमा भएको उक्त भेटवार्तामा पछिल्लो समय रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको क्षति, निजी क्षेत्रले भोग्नुपरेका समस्या तथा यसले नेपालको समग्र अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे विस्तृत छलफल भएको छ।
भेटका क्रममा महासङ्घ अध्यक्ष श्रेष्ठले बाढीलाई केवल प्राकृतिक विपद्का रूपमा मात्र नहेरी यसले देशको आर्थिक गतिविधिमा पार्न सक्ने व्यापक प्रभावलाई समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो। सरकारको प्रारम्भिक मूल्याङ्कनअनुसार बाढीका कारण करिब ३८.५ अर्ब रूपैयाँ बराबरको आर्थिक क्षति तथा नोक्सानी भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले पूर्ण क्षतिको विवरण अझै सङ्कलन तथा मूल्याङ्कनको क्रममा रहेको जानकारी गराउनुभयो।
“स्थानीय उद्योग वाणिज्य सङ्घहरूको सहयोगमा क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ। तर, बाढीबाट सिङ्गो सहर तथा बस्तीहरू नै बगेको अवस्थामा यथार्थ विवरण सङ्कलनमा जटिलता भइरहेको छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो।
श्रेष्ठका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा जलविद्युत् आयोजना, प्रसारण पूर्वाधार, सडक, पुल, घर तथा व्यावसायिक सम्पत्तिमा गम्भीर असर परेको छ। विशेष गरी रसुवागढी व्यापारिक करिडोरमा आएको अवरोधले चीनसँगको व्यापार तथा देशभरको आपूर्ति व्यवस्थामा असर पर्न सक्ने र यसबाट प्रभावित क्षेत्रबाहिरका आयातकर्ता, व्यापारी, ढुवानी व्यवसायी तथा उपभोक्तासमेत प्रभावित हुने उहाँले बताउनुभयो।
विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गाफुर मिडियावाले बाढीका कारण निजी क्षेत्रमा परेको वास्तविक क्षति, उद्योग-व्यवसाय सञ्चालनमा आएको अवरोध, आपूर्ति शृङ्खला, यातायात, व्यापारका साथै पर्यटन र साना तथा मझौला उद्यममा परेको प्रभावबारे चासो राख्नुभएको थियो। बाढीको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव र पुनःस्थापनाको अवस्थाबारे थप तथ्य तथा विस्तृत विवरण विश्लेषण गरेपछि मात्रै समग्र आर्थिक वृद्धिमा पर्ने असरबारे स्पष्ट निष्कर्षमा पुग्न सकिने उहाँको भनाइ थियो।
छलफलका क्रममा विश्व बैंकका प्रतिनिधिहरूले विपद्का कारण निजी क्षेत्र र आम नागरिकले भोग्नुपरेको कठिनाइप्रति सहानुभूति प्रकट गर्दै प्रभावित व्यवसाय तथा समुदायको पुनःस्थापना र आर्थिक पुनर्उत्थानका लागि आवश्यक सहयोग र सहकार्य गर्न महासङ्घसँग प्रतिबद्धता जनाएका छन्।
सोही अवसरमा ‘नेपाल विकास अपडेट-२०२६’ का विषयमा समेत छलफल भएको थियो। महासङ्घ अध्यक्ष श्रेष्ठले आगामी विकास अपडेटमा बाढीबाट भएको भौतिक क्षतिका साथै उत्पादन, रोजगारी, आम्दानी, व्यापार, लगानी, ऋण र निजी क्षेत्रको व्यावसायिक मनोबलमा परेको प्रभावलाई समेत अध्ययनमा समेट्न आग्रह गर्नुभयो। विश्व बैंक टोलीले पनि व्यावसायिक क्षेत्रबाट प्राप्त हुने विवरण र सुझावहरूलाई अध्ययनमा समावेश गर्ने आश्वासन दिएका छन्।

