२०८३ भाद्र २३, मंगलवार

किभमा तीन दिनपछि रुसी आक्रमण पुनः सुरु

रुसी हवाई आक्रमणपछि किभमा उठेको धुवाँ । तस्बिरः एएफपी

       
  • रुसी आक्रमणमा दुई जनाको मृत्यु, सात घाइते ।
  • किभका विभिन्न क्षेत्रमा आगलागी र संरचनामा क्षति ।
  • शान्ति प्रयासबीच रुसी आक्रमण पुनः सुरु ।

किभ । तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किभमा पुनः क्षेप्यास्त्र आक्रमण गरेको छ । मङ्गलबार बिहान भएको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु तथा सात जना घाइते भएको किभ सहरको सैन्य प्रशासनले जनाएको छ ।

आक्रमणबाट राजधानीका विभिन्न स्थानमा आगलागी हुनुका साथै संरचनामा क्षति पुगेको छ । सोलोमियन्स्की जिल्लाको पाँचतले आवासीय भवनमा समेत क्षति पुगेको र पोडिल्स्की जिल्लामा सवारीसाधनमा आगलागी भएको मेयर भिटाली क्लिट्स्कोले बताउनुभयो ।

युक्रेनी सेनाले हवाई रक्षा प्रणाली सक्रिय रहेको जनाउँदै सर्वसाधारणलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा किभमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेपछि पुटिनले आक्रमण रोक्न आदेश दिनुभएको थियो । पछिल्लो आक्रमणसँगै उक्त रोक समाप्त भएको रुसी सरकारी समाचार संस्था तासले जनाएको छ ।

यसैबीच, विटकफले रुस र युक्रेनसँगको छलफलमा ‘ठोस प्रगति’ भएको बताउनुभएको छ । क्रेमलिनले रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय शान्ति वार्ताको सम्भावना अस्वीकार नगरे पनि त्यसको स्थान र मिति तय गर्न कठिन रहेको जनाएको छ ।

जेलेन्स्कीले अमेरिकाले जाडो सुरु हुनुअघि युद्धको तनाव कम गर्न दबाब दिइरहेको बताउनुभएको छ । अमेरिकी प्रस्तावमा ऊर्जा पूर्वाधार, अन्न ढुवानी तथा तेल र ग्यास निर्यातसम्बन्धी विषय समेटिएको उहाँले उल्लेख गर्नुभएको छ ।

सन् २०२२ मा रुसले आक्रमण सुरु गरेयता प्रत्येक जाडोमा युक्रेनको ऊर्जा संरचनामाथि आक्रमण हुँदै आएको छ । पूर्वी युक्रेनका भूभागसम्बन्धी मतभेदका कारण यसअघिका वार्ता अघि बढ्न नसकेको अवस्थामा पछिल्लो आक्रमणले अमेरिकी शान्ति प्रयासबीच पनि युद्ध अन्त्यको बाटो चुनौतीपूर्ण रहेको देखाएको छ । एएफपी

Facebook Comments