२०८३ भाद्र ७, आइतवार

मुक्तिनाथ दर्शन गरेर प्रधानमन्त्री शाह काठमाण्डू फिर्ता

       

भिओके समाचार/काठमाण्डू । प्रधानमन्त्री बालेन्द्र शाह मुक्तिनाथ मन्दिरको दर्शन गरेर आइतबार बिहान काठमाण्डू फर्किनुभएको छ । उहाँ बिहान ९ः५० बजे मुस्ताङबाट काठमाण्डूका लागि प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री शाह शनिबार परिवारसहित मुक्तिनाथ पुग्नुभएको थियो । उहाँले साँझ मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरी पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो ।

पूजाअर्चनापछि उहाँ शनिबार राति करिब ८ः४५ बजे मन्दिरबाट फर्किनुभएको थियो । प्रधानमन्त्री शाहले मुस्ताङको घरपझोङ गाउँपालिका-३, जोमसोम बजारस्थित होटल ओम्स होममा एक रात बिताउनुभएको थियो ।

मुस्ताङी तथा थकाली मौलिक संस्कृति झल्किने परम्परागत वास्तुकलामा निर्मित उक्त होटल विष्णु राज र लालकुमारी हिराचनले पाँच दशकदेखि सञ्चालन गर्दै आउनुभएको छ ।

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण पारिवारिक भ्रमणका रूपमा रहेको र यस क्रममा कुनै अतिरिक्त औपचारिक कार्यक्रम नरहेको स्रोतले जनाएको छ । उहाँ कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम सडकखण्ड हुँदै जोमसोम फर्किनुभएको थियो । म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो ।

Facebook Comments