२०८३ भाद्र ४, बिहीवार

सरकारले बढायो शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

       
  • सङ्घीय अनुदानमा कार्यरत शिक्षकको पारिश्रमिक १० प्रतिशत बढ्यो ।
  • इसिडी सहजकर्ता, विद्यालय सहयोगी र कर्मचारीको अनुदानमा मासिक रु पाँच हजार वृद्धि ।
  • पारिश्रमिक वृद्धिबाट सरकारलाई वार्षिक रु चार अर्ब ६८ करोडभन्दा बढी थप दायित्व ।

भिओके समाचार/काठमाण्डू । सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिकमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक रु ४३ हजार ६६९ बाट बढेर रु ४८ हजार ५८ पुगेको छ । आधारभूत तहका शिक्षकको पारिश्रमिक रु ३४ हजार ७३० बाट बढेर रु ३८ हजार २०३ कायम भएको छ ।

यसैगरी, इसिडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु पाँच हजार थप गरिएको छ । नयाँ व्यवस्थाअनुसार इसिडी सहजकर्ताको मासिक पारिश्रमिक रु १२ हजारबाट रु १७ हजार, विद्यालय सहयोगीको रु १० हजारबाट रु १५ हजार र लेखा हेर्ने विद्यालय कर्मचारीको रु १५ हजारबाट रु २० हजार पुगेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय कर्मचारी तथा इसिडी सहजकर्ताले लामो समयदेखि भोग्दै आएको समस्या समाधान गर्न सरकारले पहल गरेको बताउनुभएको छ । उहाँहरूको रोजगारी सुरक्षा, पेसागत वृद्धि तथा समग्र वृत्तिविकासमा सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

पारिश्रमिक वृद्धि भएपछि न्यून पारिश्रमिकमा सामुदायिक विद्यालयमा कार्यरत इसिडी सहजकर्ता, विद्यालय कर्मचारी, विद्यालय सहयोगी तथा सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका शिक्षक प्रत्यक्ष लाभान्वित हुनेछन् । यसबाट विद्यालयमा कार्यरत जनशक्तिको मनोबल बढ्नुका साथै शैक्षिक गुणस्तर सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।

पारिश्रमिक वृद्धि कार्यान्वयनपछि सरकारमाथि वार्षिक रु चार अर्ब ६८ करोड ९८ लाख २८ हजार १०० थप दायित्व सिर्जना हुनेछ ।

Facebook Comments