Tue. Jul 21st, 2026

विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्छ : राष्ट्रपति पौडेल

       

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताउनुभएको छ । नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “विकास निर्माणका क्रममा इतिहास, भूगोल, संस्कृति, जातीय बनोटलगायतका विविधतालाई पनि बिर्सन हुँदैन । वर्तमान समयको माग एवं नयाँ पुस्ताको चाहना र आकाङ्क्षालाई सम्बोधन गर्ने गरी उत्पादन, रोजगारी र आर्थिक क्रियाकलापलाई पनि तीव्र रूपमा अघि बढाउनु आवश्यक छ ।”

राष्ट्रपति पौडेलले भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोतसाधनले धनी हाम्रो देशलाई आज दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको उल्लेख गर्दै मुलुकसामु जलवायु परिवर्तन ठूलो चुनौतीका रूपमा खडा भएको बताउनुभयो । उहाँले थप्नुभयो, “यस्तो अवस्थामा हाम्रा सडक, पुल र जलविद्युत् आयोजनाहरू प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्दछ । हाम्रो विकास ‘हरित विकास’ को सिद्धान्तमा आधारित हुनुपर्दछ ।”

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नै हाम्रो विकास र मानवीय हितका अनेकन आयामलाई सम्बोधन गर्दछ भन्ने कुरालाई बिर्सन नहुनेमा जोड दिनुभयो । लोकतन्त्रको यो सौन्दर्यलाई केवल आदर्श मात्र नबनाई व्यवहार र आचरणमा अवलम्बन गर्न सकिए मात्र लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पूरा हुने उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले कुनै पनि देशको भविष्य त्यस देशका युवाहरूको सोच, ऊर्जा र क्षमतामा निर्भर गर्ने भन्दै युवा मस्तिष्कको नवीन सोच र इन्जिनियरको प्राविधिक कौशल सँगसँगै जोडिए मात्र समृद्ध नेपालको सपना साकार हुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “समयले आज त्यो दायित्व तपाईँहरूलाई सुम्पेको छ । हाम्रा दक्ष युवा इन्जिनियर रोजगारी र अवसरको खोजीमा विदेसिने क्रम बढ्दो छ । यो देशका लागि चिन्ताको विषय हो । म सरकार र निजी क्षेत्रलाई युवा इन्जिनियर तथा आर्किटेक्टका लागि स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न आग्रह गर्दछु ।” रासस

Facebook Comments