Tue. May 26th, 2026

भेडा बिक्री गरेर मौरीपालन   

       

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका रेशम छन्त्यालले परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन गर्नुभएको छ ।

घुम्ती गोठमा भेडापालन गर्ने पेसाको विकल्पमा मौरीपालन गरेका ४४ वर्षीय छन्त्याल स्वरोजगार र आत्मनिर्भर बन्नुभएको हो । “हिउँद, बर्खा, झरीबादल नभनी भेडाबाख्राको पछि लागेर लेकबेँसी गर्नुभन्दा घर वरपरकै बारीमा घार थापोर मौरीपालन गर्दा आफू र परिवारलाई सजिलो छ”, उहाँले भन्नुभयो, “हाल ८० घर मौरी छन् । प्रतिलिटर रु दुई हजारका दरले वार्षिक ३०० लिटर मह उत्पादन गरेर घरबाटै बिक्री गर्छु ।”

छन्त्यालका बुबा र बाजेले परम्परागत रुपमा भेडापालन गर्दै आउनुभएको थियो । रोजगारीको खोजीमा केही वर्ष खाडीमुलुक बिताएका रेशमले करिब १५ वर्ष गाउँमै भेडापालन गर्नुभएको थियो । उहाँले आठ वर्षअघि भेडा बेचेर मौरीपालन गर्न थाल्नुभएको थियो ।

घरमै रहेको स्थानीय ‘एपी सेरेना’ जातको मौरीको चार÷पाँच वटाबाट घार छुट्टाएर २०० वटासम्म बनाएको उहाँले बताउनुभयो । “जङ्गलमा महशिकार गरिने, हावापानी र मौसम अनुकूल भएकाले मौरीपालनलाई रोजेको हो”, उहाँले भन्नुभयो, “मौरीको आनीबानीको बारेमा जानकार भएकाले घार विस्तार गर्न समस्या भएन् ।”

सामाजिक सञ्जाल ‘युट्युब’ मा कृषि विज्ञहरुको भनाइबाट प्रभावित भएर मौरीपालन गरेका छन्त्यालले हालसम्म सरकारी निकाय तथा गैरसरकारी संस्थाबाट तालिम र अनुदान सुविधा नलिएको बताउनुभयो । गुर्जाका साथै मौरी चराउन लाछावाङमा पनि लैजाने गर्नुभएको छ ।

ग्राहक घरमै आउने भएकाले मह बिक्रीका लागि समस्या नभएको छन्त्यालले बताउनुभयो । अधिक वर्षा र हिमपातका समयमा चरनको अभाव हुँदा मौरीलाई महनै आहारा दिने गर्नुभएको छ । वरपरका वनजङ्गल र खेतबारी मौरीको चरन क्षेत्र हुन् ।

धेरै जाडो र फूल नफुल्दा मौरीलाई आहारा व्यवस्थापनमा समस्या हुने गरेको उहाँको अनुभव छ । जङ्गली जनावर भालु र मालछेपारोको आक्रमणबाट मौरीलाई जोगाउनु अर्को चुनौती रहेको छ । भौगोलिक विकटताका कारण बागलुङमा रहेको आन्तरिक राजस्व कार्यालयमा पुगेर फर्म दर्ता तथा पान नम्बर लिन नपाएको छन्त्यालले गुनासो गर्नुभयो ।

हालै सडक सञ्जालमा जोडिएको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले घुम्ती शिविर आयोजना गरेर मौरीपालक किसान रेशमसहितका उद्यमी, कृषक र व्यवसायीलाई दर्ता, करको दायरा, तालिम र अनुदान सुविधामा जोड्न पहल गरिने बताउनुभयो । रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read