गुप्तचर साझेदारीमा अमेरिका-दक्षिण कोरिया तनाव
सियोल । उत्तर कोरियाको संवेदनशील आणविक गतिविधिबारे सार्वजनिक अभिव्यक्तिपछि अमेरिका र दक्षिण कोरियाबिच गुप्तचर साझेदारीमा चिसोपन देखिएको छ । सियोलका एक मन्त्रीको टिप्पणीपछि वासिङ्टनले उत्तर कोरिया सम्बन्धी केही उपग्रह खुफिया जानकारी साझेदारीमा आंशिक सीमितता लगाएको विवरण सार्वजनिक भएको छ ।
दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ-युङले गत महिना संसद्मा उत्तर कोरियाको उत्तरपश्चिमी कुसोङ क्षेत्रमा युरेनियम संवर्धन स्थल सञ्चालन भइरहेको आशङ्का व्यक्त गर्नुभएको थियो । यही अभिव्यक्तिलाई लिएर अमेरिकाले असन्तुष्टि जनाएको र संवेदनशील सूचनाको अनुमतिबिना खुलासा भएको ठहर गर्दै प्रतिक्रिया दिएको दक्षिण कोरियाली समाचार संस्था योन्हापसहितका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
रिपोर्ट अनुसार यस घटनापछि अमेरिकाले पहिले नियमितरूपमा सियोललाई दिँदै आएको केही उपग्रह सूचनामा सीमितता लगाएको छ । उक्त प्रतिबन्ध यसै महिनाको सुरुदेखि लागु भएको बताइए पनि यसले समग्र सैन्य तयारीमा ठुलो असर नपारेको एक अज्ञात दक्षिण कोरियाली सैन्य अधिकारीलाई उद्धृत गर्दै जनाइएको छ । ती अधिकारीका उत्तर कोरियाको सैन्य गतिविधिबारे गुप्तचर सङ्कलन र आदानप्रदान भने अझै सामान्यरूपमा जारी छ ।
यद्यपि, दक्षिण कोरिया वा अमेरिकाका अधिकारीले औपचारिक रूपमा यस्तो प्रतिबन्धको पुष्टि गरेका छैनन् । कोरियामा तैनाथ अमेरिकी सैन्य संरचना ‘युनाइटेड स्टेट्स फोर्सेज कोरिया’ ले पनि सञ्चारमाध्यममा आएका विवरणबारे जानकारी भएको जनाउँदै थप टिप्पणी गर्न अस्वीकार गरेको छ । यसैबिच, दक्षिण कोरियाको एकीकरण मन्त्रालयले कुसोङस्थित कथित आणविक सुविधाबारे अन्य कुनै स्रोतबाट नयाँ जानकारी प्राप्त नभएको जनाएको छ । उत्तर कोरियाले यसअघि योङब्योन र राजधानी प्योङयाङ नजिक कङ्गसन क्षेत्रमा युरेनियम संवर्धन सुविधा सञ्चालन गर्दै आएको जानकारी सार्वजनिक भइसकेको छ ।
चुङको अभिव्यक्तिलाई लिएर विपक्षी दलले आलोचना गरेका छन् र यसले अमेरिका-दक्षिण कोरिया सम्बन्धमा असर पारेको आरोप लगाएका छन् । तर चुङले आफ्नो भनाइ सार्वजनिकरूपमा उपलब्ध जानकारीमा आधारित रहेको र यसलाई गोप्य सूचनाको चुहावटका रूपमा व्याख्या गरिनु ‘दुःखद्’ भएको बताउनुभएको छ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले पनि चुङको बचाउ गर्दै कुसोङ सुविधा सम्बन्धी जानकारी पहिले नै विभिन्न शैक्षिक अध्ययन र सञ्चार माध्यममार्फत सार्वजनिक भइसकेको ‘स्पष्ट तथ्य’ भएको उल्लेख गर्नुभएको छ । उहाँले अमेरिकी गोप्य सूचनाको चुहावट भएको दाबी आधारहीन रहेको स्पष्ट पार्नुभयो ।
यसै क्रममा, केही रिपोर्टहरूमा कोरियास्थित अमेरिकी सैन्य कमान्डर जेभियर ब्रुनसनले दक्षिण कोरियाका रक्षामन्त्रीसँग असन्तुष्टि व्यक्त गरेको उल्लेख भए पनि रक्षा मन्त्रालयले यस्तो दाबीलाई कूटनीतिक रूपमा उपयुक्त नहुने भन्दै अस्वीकार गरेको छ । उत्तर कोरिया निरन्तर आणविक हतियार र ब्यालेस्टिक मिसाइल कार्यक्रम अघि बढाइरहेको भन्दै संयुक्त राष्ट्रसङ्घका विभिन्न प्रतिबन्धहरू अन्तर्गत छ, जसलाई उसले बारम्बार उल्लङ्घन गर्दै आएको आरोप छ ।
हालै संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुखले उत्तर कोरियाले आफ्नो आणविक क्षमतामा ‘धेरै गम्भीर वृद्धि’ गरिरहेको चेतावनी दिएका थिए । उत्तर कोरियाको सम्भावित सैन्य खतरा नियन्त्रण गर्न अमेरिकाले दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ । साथै, स्याटेलाइट र अन्य माध्यमबाट प्राप्त गुप्तचर सूचना सियोलसँग साझेदारी गर्दै आएको छ । पछिल्लो घटनाक्रमले दुई सहयोगीबिच विश्वास र सूचनाको संवेदनशीलता कति महत्त्वपूर्ण हुन्छ भन्ने प्रश्न फेरि उठाएको छ । रासस/एएफपी

