Mon. Apr 29th, 2024

बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या वृद्धि भएर ३६ पुग्यो

काठमाडौं, २०७७ पुस २६ गते आईतबार

स्थानीय बासिन्दाले समेत संरक्षणमा सहयोग गरेपछि बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या उल्लेख्य रुपमा बृद्धि भएर ३६ पुगेको निकुञ्जले जनाएको छ ।

एक दशकयता सबैको सहयोगले गैंडा चोरी शिकारीका घटना शुन्यमा झरेपछि संरक्षणमा बल पुगेको र सोही कारणले गैंडाको संख्या समेत बृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताउनुभयो । उहाँले एक दशक यता निकुञ्जमा गैंडाको चोरी शिकारी शुन्यमा झरेको बताउँदै भन्नुभयो-‘एक दशकअघि चोरीशिकारीका घटना बढी हुन्थे । हाल भने शुन्य भएको छ, यसले गैंडा संरक्षणमा ठुलो सहयोग पुगेको छ ।’

प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार चोरीशिकारी नियन्त्रणका लागि स्थानीयहरुले समूह बनाएका छन् । बाल क्लबहरु परिचालित छन् । बन्यजन्तु हेर्न पर्यटकरु आउन थालेपछि स्थानीयले संरक्षणमा जोड दिएका हुन । त्यसबाट स्थानीयलाई केही आर्थिकक फाईदा हुन थालेको छ ।
निकुञ्जका गैंडा डल्ला गाउँको शिव समुदायिक वनमा आउजाउ गरिरहने हुँदा डल्ला होमस्टेमा गैंडा हेर्न धेरै पर्यटकहरु पुग्न थालेका छन् । निकुञ्जका होटल र नजिकका गाउँमा सञ्चालनमा आएका होमस्टेहरुमा पर्यटकहरुको उपस्थिति फेरी बढ्न थालेको छ ।

सन २००८ मा बर्दिया निकुञ्जमा गैंडाको संख्या २२ मा झरेको थियो । बबई उपत्यकाको परेवा ओडरमा छाडिएका डेढ दर्जन बढी गैंडा चोरी शिकारी भएपछि संख्या एकाएक घटेको थियो । हाल परेवा ओडरमा ६ वटा गैंडा रहेको निकुञ्जले जनाएको छ ।
सन २०२० मा गरिएको गणनामा गैंडाको संख्या बढेर ३६ पुगेको देखिएको थियो । राष्ट्रिय प्राकृति संरक्षण कोष कार्यक्रमले दुलर्भ मानिने गैंडाको संख्या बर्दिया निकुञ्जमा बढ्ने क्रममा रहेको जनाएको छ ।

सन १९८६ मा चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा हस्तान्तरण गरिएको थियो । सन २००० मा गैंडाको संख्या ६३ पुग्यो । सन २००५ मा बढेर ६७ पुग्यो । तर त्यसको दुई वर्षपछि आधाभन्दा बढी संख्या घट्यो । सन २००७ मा गैंडाको संख्या घटेर ३१ मा झरेको तथ्यांक छ । त्यसयता सन २००८ मा अझै घटेर २२ मा झ-यो । तर सन २०११ देखि गैंडाको संख्या सुधारउन्मुख देखिएको छ । उक्त समयमा गैंडाको संख्या २४ थियो । सन २०१५ मा २९ र हाल आएर ३६ पुगेको छ । गोरखापत्र

Facebook Comments