नेपाल-चीन सौहार्दपूर्ण सम्बन्धलाई उच्च महत्व दिन्छौँ : उपसभामुख राना
काठमाण्डू । उपसभामुख इन्दिरा रानाले चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्वका रूपमा लिँदै आएको बताउनुभएको छ ।
गणतन्त्र चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा नेपालस्थित चिनियाँ दूतावासले शनिबार आयोजना गरेको समापन कार्यक्रममा सम्बोधन गर्दै उहाँले चीनलाई नेपालको भरपर्दो विकास साझेदारका रूपमा उल्लेख गर्नुभयो ।
उपसभामुख रानाले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तले नेपाल–चीन मित्रतालाई मजबुत आधार दिएको बताउँदै सात दशकदेखि दुवै देशबीचको सम्बन्ध स्थिर र विश्वासपूर्ण रहेको उल्लेख गर्नुभयो । पारस्परिक सम्मान, भौगोलिक निकटता तथा साझा सांस्कृतिक र आध्यात्मिक सम्पदामा आधारित सम्बन्ध अझ सुदृढ हुँदै गएको उहाँको भनाइ थियो ।
“हिमालय प्राकृतिक सीमा भए पनि यसले कहिल्यै सम्बन्धमा बाधा पुर्याएको छैन,” उहाँले भन्नुभयो, “यसले हाम्रो साझा भाग्य र शान्तिपूर्ण सहअस्तित्वप्रतिको प्रतिबद्धतालाई प्रतीकात्मक रूपमा जोडेको छ।”
नेपाल सधैँ चीनलाई मैत्रीपूर्ण छिमेकी र रणनीतिक साझेदारका रूपमा हेर्दै आएको उल्लेख गर्दै उपसभामुख रानाले नेपाल संघीयता, समावेशी र दिगो विकासको मार्गमा अघि बढिरहेको बताउनुभयो । साथै नेपालको संविधान र परराष्ट्र नीतिअनुसार सबै देशसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम राख्न नेपाल प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।

