प्रधानमन्त्रीद्वारा मौजुदा मन्त्रिमण्डलमा फेरबदल
काठमाडौं, २०७६ मंसिर ४ गते बुधबार ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ । मन्त्रिपरिषद्मा छ मन्त्री र तीन राज्यमन्त्री गरी नौजना नयाँ अनुहार थपिनु भएको छ । नेताहरु हृदयेश त्रिपाठी, घनश्याम भुसाल, रामेश्वर राय यादव, वसन्तकुमार नेम्बाङ, लेखराज भट्ट, वसन्तकुमार नेम्बाङ र पार्वत गुरुङ मन्त्री पदसहित सरकारमा सामेल हुनुभएको छ ।
यसैगरी, राज्यमन्त्रीहरुमा पनि तीनजना नयाँ चेहरा थपिनु भएको छ । राष्ट्रपति कार्यालयका अनुसार, मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्रीसहित सरकारमा सामेल हुनुभएको छ । सरकारबाट बाहिरिने भनी चर्चामा ल्याइएका कतिपय मन्त्रीहरुको पद कायमै रहेको छ । नयाँ थपिएका मन्त्री तथा राज्यमन्त्रीमा महिलाको संख्या भने थपिन सकेन । पहिलाको मन्त्रिपरिषद्मा रहनु भएका दुईजना महिलामन्त्री भने कायमै रहनु भएको छ ।
मन्त्रिपरिषद्बाट बाहिरिने मन्त्रीहरुमा मातृका यादव, लालबाबु पण्डित, थममाया थापा, गोकर्ण विष्ट, रघुवीर महासेठ र चक्रपाणि खनाल हुनुहुन्छ । यसैगरी, राज्यमन्त्रीहरु धनबहादुर बुढा, रामकुमारी चौधरी र डा. सुरेन्द्रकुमार यादवले पनि बिदा पाउनुभएको छ ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले नयाँ मन्त्रीहरुको शपथग्रहण बिहीबार हुने जानकारी दिनुभयो । यसैगरी, राष्ट्रपतिका प्रमुख निजी सचिव डा. भेषराज अधिकारीले पनि बिहीबार बिहान करिब ११ बजेको हाराहारीमा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुहुने बताउनुभयो ।
वि.सं. २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभएका के.पी. शर्मा ओलीले पटक पटक मन्त्रिपरिषद्मा सामान्य हेरफेर गर्दै आउनुभएको थियो तर अहिले एकै पटक छ मन्त्री र तीन राज्यमन्त्री गरी नौजनालाई मन्त्रिपरिषद्मा सामेल गर्नुभएको छ । साथै त्यतिकै संख्यामा बिदाइ पनि गर्नुभएको छ । गोरखापत्र अनलाईनबाट ।
सूची तल हेर्नुहोला
क्र.सं. | नाम, थर | पदनाम | कार्यविभाजन |
१ | श्री केपी शर्मा ओली | प्रधानमन्त्री | |
२ | श्री ईश्वर पोखरेल | उपप्रधानमन्त्री | रक्षा |
३ | श्री उपेन्द्र यादव | उपप्रधानमन्त्री | कानुन, न्याय तथा संसदीय मामिला |
४ | श्री रामबहादुर थापा | मन्त्री | गृह |
५ | श्री प्रदीपकुमार ज्ञवाली | मन्त्री | परराष्ट्र |
६ | श्री हृदयेश त्रिपाठी | मन्त्री | सङ्घीय मामिला तथा सामान्य प्रशासन |
७ | श्री गिरिराजमणि पोखरेल | मन्त्री | शिक्षा, विज्ञान तथा प्रविधि |
८ | श्री बर्षमान पुन | मन्त्री | ऊर्जा, जलस्रोत तथा सिँचाइ |
९ | श्री घनश्याम भुसाल | मन्त्री | कृषि तथा पशुपन्छी विकास |
१० | श्री भानुभक्त ढकाल | मन्त्री | स्वास्थ्य तथा जनसङ्ख्या |
११ | श्री लेखराज भट्ट | मन्त्री | उद्योग, वाणिज्य तथा आपूर्ति |
१२ | श्री योगेशकुमार भट्टराई | मन्त्री | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन |
१३ | श्री शक्तिबहादुर वस्नेत | मन्त्री | वन तथा वातावरण |
१४ | श्री रामेश्वर राय यादव | मन्त्री | श्रम, रोजगार तथा सामाजिक सुरक्षा |
१५ | डा. युवराज खतिवडा | मन्त्री | अर्थ |
१६ | श्री मोहम्मद इश्तियाक राई | मन्त्री | सहरी विकास |
१७ | श्री जगतबहादुर सुनार (विश्वकर्मा) | मन्त्री | युवा तथा खेलकुद |
१८ | श्री गोकुलप्रसाद वाँस्कोटा | मन्त्री | सञ्चार तथा सूचना प्रविधि |
१९ | श्री पद्माकुमारी अर्याल | मन्त्री | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण |
२० | श्री बीना मगर | मन्त्री | खानेपानी |
२१ | श्री वसन्तकुमार नेम्बाङ्ग | मन्त्री | भौतिक पूर्वाधार तथा यातायात |
२२ | श्री पार्वत गुरुङ | मन्त्री | महिला, बालबालिका तथा ज्येष्ठ नागरिक |
२३ | श्री मोतीलाल दुगड | राज्यमन्त्री | उद्योग, वाणिज्य तथा आपूर्ति |
२४ | श्री नवराज रावत | राज्यमन्त्री | स्वास्थ्य तथा जनसङ्ख्या |
२५ | श्री रामबिर मानन्धर | राज्यमन्त्री | सहरी विकास |
गोरखापत्र अनलाईनबाट ।