कोरोना विरुद्धको खोप आपूर्तिका लागि ४८ अर्ब रुपियाँको वित्तीय व्यवस्थापन
काठमाडौं, २०७७ मंसिर २७ गते शनिबार
विश्वका विभिन्न देशहरुमा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएसँगै नेपालमा पनि खोप आपूर्तिका लागि ४८ अर्ब रुपियाँको वित्तीय व्यवस्थापन गरिएको छ ।
खोपका लागि वित्तीय सुनिश्चितता गर्न अर्थ मन्त्रालयले ४८ अर्ब रुपियाँको व्यवस्थापन गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिनुभयो । वित्तीय व्यवस्थापनसँगै खोप उत्पादक मुलुकमा आपूर्तिका लागि कूटनीतिक नोट पठाइसकेको छ । खोप कहिलेसम्म आइपुग्छ भन्ने निश्चित त छैन तर खोप आपूर्ति गर्ने अन्तर्राष्ट्रिय संस्था गाभीको सक्रियतामा खोपलाई सहज गर्नका लागि कोभ्याक्स सहजीकरण गठन भइसकेको छ ।
गोरखापत्र अनलाईनका अनुसार खोपका लागि नेपाल सरकारले गृहकार्यलाई अगाडि बढाएको छ । बेलायती कम्पनी फाइजरलगायत मोर्डेना, अक्सफोर्ड एस्टाजनिका र ग्यामेलिया गरी चारवटा कम्पनीले खोपको प्रारम्भिक नतिजा ल्याइसकेका छन् । उक्त नतिजा ९० प्रतिशतभन्दा माथि सफल रहेको छ । परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. गौतमले नेपालीको पहुँचमा छिटै कोरोना विरुद्धको खोप पाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले चार कम्पनीमध्ये भण्डारण गर्नुपर्ने तापक्रम भने फरक रहेको जानकारी दिँदै फाइजर कम्पनीको खोप माइनस ७० डिग्री सेन्टिग्रेडमा प्राविधिक पक्ष छ । जुन नेपालमा हालको अवस्थामा सम्भव छैन । त्यसको संरचना सुरुदेखि नै बनाउनुपर्ने हुन्छ । मोर्डेनाको खोप माइनस २० सेन्टिग्रेड तथा ग्यामेलिया र अक्फोर्ड एस्टाजनिकाका दुईदेखि आठ डिग्री सेल्सियससम्म राख्नुपर्ने हुन्छ । दुईदेखि आठ डिग्रीसम्मका खोप नेपालमा भण्डारण गर्ने क्षमता रहेको छ । यस्तै माइनस २० डिग्रीको पनि नेपालमा भण्डारण हुनेछ ।
सरकारले नेपालमा खोप ल्याउन विभिन्न समिति तथा उपसमितिहरू निर्माण गरिसकेको छ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ र परराष्ट्र मन्त्रालयका सचिव स्तरीय उच्च स्तरीय समितिसमेत बनाइसकेको छ । त्यस्तै प्राविधिक रूपमा अध्ययन तथा सुझाव दिई खोप नेपालमा सहज रूपमा ल्याउनका लागि विज्ञ समूह गठन गरेको छ । जसमा डा. श्यामराज उप्रेतीको संयोजकत्वमा डा. बालकृष्ण सुवेदी, डा. जिडी ठाकुर, डा. प्रदीप ज्ञवाली र सदस्य सचिवका रूपमा डा. झलक गौतम हुनुहुन्छ ।
ती बाहेकका उपसमूहले चिस्यान भण्डारण कार्य योजना तयार गर्नेछ । यस्तै खोपलाई सहज बनाउनका लागि विभिन्न आठवटा उपसमूह बनेको सदस्य सचिव डा. गौतमले जानकारी दिनुभयो । विभिन्न प्राविधिक विषयमा छलफल गरेर अघि बढ्न उक्त उपसमूह बनाइएको हो । त्यसलाई छुट्टाछुट्टै जिम्मेवारी दिइएको छ, गौतमले थप्नुभयो, “कसैले सचिवालय सञ्चालन गर्नेछन्, कतिले खोप भण्डारणको व्यवस्थापन गर्नेछन्, कतिपय सूचना सञ्चारको विषयमा हेर्नेछन् भने अर्को समूहले खोपको गुणस्तरको विषय हेर्ने र अनुगमनका विषयमा पनि उपसमितिले हेर्नेछ ।