Fri. Nov 22nd, 2024

सबै देशहरुमा उडान अनुमति दिने सीसीएमसीको निर्णय

काठमाडौं, २०७७ मंसिर ९ गते मंगलबार

कोरोना भाइरस (कोभिड(१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी सबै देशहरुमा उडान अनुमति दिने निर्णय गरेको छ ।

सीसीएमसी निर्देशक समितिको मंगलबारको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि कोरोना संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय गरेको हो ।

प्रशासन अनलाईनका अनुसार संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिन निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । उनले भने, ‘नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकताअनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ ।’

विभिन्न सरकारी कार्यालयहरुमा एकरदुई जनामा संक्रमण देखिनेवित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेकाले त्यस्तो नगर्न पनि सीसीएमसीले निर्देशन दिएको छ । संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको उनले बताए । संक्रमण उच्च रहेका र कम हुँदै गएका स्थानमा के कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो । यद्यपि सीसीएमसीले तत्काल निषेधाज्ञा गर्ने विषयमा भने कुनै निर्णय गरेको छैन । संक्रमणको उच्च रहेको सीमित स्थानलाई सिल गरी सेवा सञ्चालनका सम्बन्धमा केही निर्णय गर्न सकिने गरी छलफल भएको सचिव गुरागाईंले बताए ।

उपत्यकामा रहेको एकीकृत एम्बुलेन्स सेवाको पर्किङ समस्या रहेकाले विभिन्न स्थानीय तहमा पार्किङका लागि व्यवस्थापन गर्ने निर्णय भएको छ ।

Facebook Comments