Sun. Apr 28th, 2024

नेपाल सम्वत् नेवारको मात्रै नभई सबैको साझा होः मन्त्री श्रेष्ठ

काठमाडौं, २०७७ मंसिर २ गते मंगलबार

शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सम्वत् ११४१ को अवसरमा मध्यपुर थिमिस्थित शङ्खधर साख्वाःको प्रतिमामा सोमबार माल्यार्पण गर्नुभएको छ । सो अवसरमा उहाँले नेपाल सम्वत् एकल जातिको मात्र नभई सबै नेपालीको मौलिक सम्वत् भएको बताउनुभएको छ । मन्त्री श्रेष्ठले भन्नुभयो, “अहिले यो सम्वत्लाई सरकारले राष्ट्रिय सम्वत् घोषणा गरे पनि सबै नेपालीले यसलाई अपनत्व गर्न नसकेकाले यसलाई नेवार समुदायको मात्र भनेर गलत बुझाइ रहेको छ, अब यसलाई सबैको सम्वत् बनाउनु आवश्यक छ ।”

विगतमा भाइटीका र किजा पूजा एकै दिन गरिँदै आएकोमा केही वर्षदेखि फरक फरक दिनमा मनाउन थालिएको प्रसङ्ग कोट्याउँदै उहाँले केही वर्षयता तिथिमा देखिएको घटबढका कारण दुई दिन मनाइने प्रचलनलाई आगामी वर्षदेखि समायोजन गरेर एकै दिन मिलाउनु आवश्यक रहेको बताउनुभयो ।

नेपाल सम्वत्को नयाँ दिनले हरेक वर्ष प्रणेता शङ्खधर साख्वाःको योगदानलाई सम्झाउने गरेको मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले समाजसेवी साख्वाःले सबैको ऋणमोचन गरिदिएको परोपकारी कार्यको सम्झनामा उदारताको कदर गरेर राष्ट्रिय विभूतिको रूपमा सम्मान गरिएको बताउँदै जनताको ऋण मोचन गरेर मौलिक सम्वते चलाउने ब्यक्तित्व कुनै जातविशेषको मात्र नहुने उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले सरकारले राजधानीको रत्नपार्कमा शङ्खधरको शालिक बनाइरहेको उल्लेख गर्दै नेपाल सम्वत्लाई सरकारी कामकाजमा तथा व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।  पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले राष्ट्रिय विभूति साख्वाःले पुर्याएको योगदानको चर्चा गर्दै साख्वाःले जस्तै नेताले पनि देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री तथा सांसद भीमसेनदास प्रधानले नेपाल सम्वत्लाई नेवार समुदायले आफ्नो पेवा जस्तो बनाउन नहुने भन्दै शङ्खधर कुनै जात विशेषको मात्र नभएको हुँदा सबैको साझा भएको बताउनुभयो ।  राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धर, उपाध्यक्ष ज्ञानराम श्रेष्ठलगायतले शङ्खधर तथा नेपाल सम्वत्लाई सरकारले संरक्षण एवम् सम्बद्र्धन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।  कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत् ११४१ को अवसरमा पठाउनुभएको सन्देश वाचन गरिएको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments