Wed. Apr 22nd, 2026

युद्धविराम वार्ताको बीचमा गाजाबासीहरु त्रासमा बाँच्न बाध्य 

       

काठमाण्डू, २०८२ असार २२ गते आईतबार । युद्धविराम वार्ताको बीचमा इजरायलद्वारा हवाई आक्रमण तीव्र हुँदा गाजाका मानिसहरू अत्यन्त ठूलो त्रासमा बाँच्न बाध्य भएका समाचारहरु प्राप्त भएका छन् ।

संयुक्त राज्य अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा हमास र इजरायलबीच जारी युद्धविराम वार्ताका बाबजुद पनि गाजा शहरका बासिन्दाहरूले इजरायली हवाई आक्रमणहरू बढ्दै गएकोले असुरक्षित महसुस गरिरहेको बताएका छन् । चिकित्सा स्रोतहरूले शनिबार बिहान सबेरैदेखि भएका भिषण आक्रमणहरूमा ३०० जना प्यालेस्टिनीहरू घाइते भएको र ७० जनाको मृत्यु भएको रिपोर्ट गरेका छन् ।

गाजा शहरको सब्रा छिमेकमा रहेको क्षतिग्रस्त विद्यालय–बनाइएको आश्रयस्थलमा भयानक दृश्यहरू देखा परेका प्रत्यक्षदर्शी हसन अल–साम्रीले बताउनुभयो । बालबालिकाहरूलाई बिना कारण टुक्रा–टुक्रा पारिएका दृश्यहरुले जो कोहीको मन रुहाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको भनाइ छ । गाजाबासीहरुको युद्धका नियमहरु पालना गर्दै सुरक्षित आश्रयस्थलहरुमा शरण लिए पनि इजारायलले पटक पटक गर्ने आक्रमणले ती स्थलहरु पनि असुरक्षित रहेको उनीहरुले बताएका छन् । आश्रयस्थलमा पटक पटक आक्रमण गर्नु अमानवीय कर्म भएको गाजावासीको धारणा छ ।

पटक पटकको आक्रमणबाट बाँच्न सफल हुनुभएका अक्रम साल्मीले आफुहरुको कुनै सुरक्षा नभएको, नजिकबाट मृत्युलाई देखिरहेको र जीवनप्रतिको आशा मरिसकेको सीसीटिभीलाई बताउनुभयो । इजरायले पटक पटक गर्ने आक्रमणले आफुहरुलाई मृत्युको नजिक पुर्याइरहेको बताउनुभयो । बिहीबार गरिएको इजरायली हवाई आक्रमणमा कम्तिमा १५ जना विस्थापित प्यालेस्टिनीहरू मारिएका थिए । जसमा मुख्यतया महिला र बालबालिकाहरू थिए ।

अक्टोबर २०२३ मा गाजामा इजरायली सैन्य अभियान सुरु भएदेखि अहिलेसम्म ५७ हजार ३ सय ३० जना भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ । अमेरिका, इजिप्ट र कतारको समर्थनमा हालै प्रस्तावित ६० दिने युद्धविरामको उद्देश्य लडाईं रोक्नु र दिगो युद्धविरामको लागि आधार तयार गर्नु भएको सीसीटिभीले जनाएको छ ।

Facebook Comments