Sat. Apr 27th, 2024

चीनतर्फको नाका पूर्णरुपमा सञ्चालन गर्न माग

काठमाडौं, २०७७ कात्तिक २२ गते शनिबार

नेपाल चीन उद्योग वाणिज्य संघले चीनसँग जोडिएका दुईवटै व्यापारीक नाका तत्काल सहज रुपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरेको छ । तातोपानी र केरुङ नाका लामो समयदेखि आंशिक रुपमा सुरु हुने र रोकिने क्रम जारी रहेकाले तत्काल सुचारु हुने सहज वातावरण बनाउन संघले सरकारको ध्यानाकर्षण गराएको हो । संघका महासचिव विवेक पौडेलले बिहीबार एक विज्ञप्ती जारी गरेर लामो समयसम्म नाका पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायीहरुले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए ।

नाका निरन्तर सञ्चालन नहुँदा जाडो, गर्मीयाम तथा चाडबाड लक्षित गरी आयात गरिएका सामान ८-१० महिनादेखि नाकामा अलपत्र रहेको व्यवसायीले बताएका छन् । कतिपय खाद्य सामग्री तथा फलफुल विग्रिएको र म्याद सकिने अवस्थामा पुगिसकेको उनीहरुले बताएका छन् ।
नाका सुरु नभएका कारण व्यवसायीहरु टाट पल्टने अवस्थामा रहेको र विविध मानसिक चिन्ता एवं विचलन भइ आन्दोलित हुने अवस्थामा रहेको विज्ञप्तीमा उल्लेख छ । नाकामा रहेको अवरोधका कारण माल सामानहरु समयमा नेपाल ल्याइ बिक्री वितरण गर्न नसकेमा व्यवसाय नै धराशाय भइ पलायन हुनुपर्ने अवस्था रहेको संघले जनाएको छ ।

लामो समयदेखि हजारौं ट्रक मालसामानहरु नाकामा अलपत्र अवस्थामा रहेको र नाका सुचारु हुने अवस्था नदेखिएको हुँदा व्यापारीहरुले दुई देश वीच सडक मार्गबाट हुने व्यापारप्रति नकारात्मक टिप्पणी गर्न थालेको संघको ठहर छ । दुई देशबीच कायम रहेको पुरानो सुमधुर व्यापारिक सम्बन्धप्रति नकारात्मक टिप्पणी तथा आन्दोलित हुने वातावरण आउन नदिन संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

दसैं अगाडि नै नाका पूर्णरुपमा सुरु हुने भनिए पनि चिनियाँ पक्षले तातोपानी नाकाबाट दैनिक २-४ वटा ट्रकलाई मात्र नेपाल प्रवेशमा अनुमति दिने गरको छ । भन्सारलगायत सम्बन्धित निकायबाट नाका सञ्चालनका लागि प्रयास गरिए पनि चिनियाँ पक्षबाट कुनै ठोस जानकारी, कारण तथा सूचना नआउने गुनासो व्यवसायीले गर्दै आएका छन् । कारोवार दैनिक अनलाईनबाट

#

Facebook Comments