Sun. May 24th, 2026

प्रधानमन्त्री ओलीद्वारा एकैपटक मधेस प्रदेशका ६४ वटा सडक योजनाको शिलान्यास

       

जनकपुर, २०८२ जेठ १८ गते आईतबार । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार आज जनकपुरधाममा आयोजित विशेष समाहरोमा डिजिटल प्रविधिमार्फत एकैपटक ६४ आयोजनाको शिलान्यास गर्नुभएको हो ।

यसरी ६४ वटा महत्वपूर्ण तथा ठूला सडक आयोजना विस्तार तथा स्तरोन्नतिका क्रममा शिलान्यास भएको क्षणलाई मधेस प्रदेश सरकारले ऐतिहासिक एवं गौरवका रुपमा स्मरण गर्दै प्रधानमन्त्री ओलीप्रति धन्यवाद व्यक्त गरेको छ ।

धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहबाट एकसाथ ६४ वटा सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ । तीन वर्षभित्र सम्पन्न गर्ने कालोपत्रसहितको सो पक्की सडक निर्माणका लागि कूल रु १२ अर्ब ७० करोड खर्च हुने प्रदेश सरकारले जनाएको छ ।

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले भन्नुभयो, “स्रोत सुनिश्चित भई पूर्वाधार कार्यालयमार्फत ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ, आजको शिलान्यासपछि सडक निर्माणको कामले तीव्र गति लिन्छ ।”

उहाँका अनुसार यसअघि पहिलो चरणमा अगाडि बढाइएका ३२० किलोमिटर सडक योजनामध्ये २०० किलोमिटरभन्दा बढी सडक निर्माण सम्पन्न भइसकेको छ, बाँकी भागको सडक निर्माण तीव्र रूपमा बढाइने छ ।

निर्माण हुने सडकको चौडाइ साढे पाँचदेखि सात मिटर हुनेछ । सडकसँगै प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा एक/एक वटा पक्की पुल निर्माणका लागि प्रक्रिया सुरु भइसकेको मन्त्रालयले जनाएको छ । साथै, जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्दै पूर्वाधार निर्माणमा वातावरणमैत्री प्रविधि र उपायको प्रयोग गरिने भएको छ ।

यो योजनाले मधेस प्रदेशमा सडक पहुँच अभावमा रहेका गाउँलाई यातायात सञ्जालमा जोड्ने, व्यापार-व्यवसाय प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई बजारसम्म लैजान सहयोग पुर्याउन मन्त्री यादवले बताउनुभयो ।

यी हुन् प्रधानमन्त्रीले शिलान्यास गर्नुभएका ६४ वटा सडक

भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार सप्तरीमा इटहरवा-कमलपुर-दिघवा-राजविराज (अग्निसाइर राजविराज), अर्जी-त्रिकौल-पिप्राहाई हुलाकी (अर्जी-पिप्राही), सखडा-महुवा-मोहनपुर-रामपुरा, सिंग्योन खाडो नदी (हुलाकी), पौवा (रुपनी रोड) बसबिट्टी मुसहरनिया-कोलहट्टा-मलेठ (पौवा-मलेठ), देउरी तराही भुतही पातो बथनाहा चपेना सिंगियोन कट्टी, कुशहा-पटेरबा-बेल्ही बोर्डर (कुशाहा बेल्ही बोर्डर) र गौडा-सारस्वोर-मधुवन-बलानपट्टी-बलानबिहुल गा.पा. कार्यालय-गौडा-बलानपट्टी रहेका छन्।

यस्तै सिरहामा लहानको खुट्टी नदीको पुललेदि पन्चगावटी राजदेवी थान हुँदै वेतहासम्म, पतारी पोखरी-सितापुर-कल्याणपुर-सोठिआइन-खैरबोना-कल्याणपुर-ठाढी सडक, औरही हुलाकी सडक प्रहरी चौकीको नहर हुदै पिपरा-दहीपौडीसम्म सडक, दुर्गापुर विश्वसकर्मा चौक मोथियाही कसहा गरमै सरे आम्वागस सम्म सडक निर्माण, गोलबजार अशोक गाछीदेखि कदीमा टोल हुँदै भाइजी टोल बलकावा हुँदै देवीपुर सम्म, सिरहा १८ जमुवाटोलको रामजानकी मन्दिरदेखि सिरहा-१९ को सन्हैठाको पश्चिमम चौक हुँदै हकपारासम्म, मिर्चैया बजार-कुधनमा-सिकरौन-भेरिया रम्पुरा र कल्याणपुरको निन्दनाको कमला बाँधदेखि सुरु हुँदै डरौल-महुलिया हुँदै मझाउँको पूर्व टोल पेट्रोल पम्पको कल्याणपुर उत्तर छेउसम्म रहेको छ।

यसैगरी धनुषामा भरतपुर-स्कुल-गौरीपुर बजार-सिकियाहीसम्म, महेन्द्र राजमार्ग मालटोल हरिपुरदेखि पर्वता परिक्रमा सडक हुँदै भुतही पुरान्दाहा, विशरभोरा धबौली एकराही ठाडी महिना थपुरनिकास बोर्डर, विर्ता गाउँस्थित परिक्रमा सडकदेखि सिमरापट्टी पचाहर्वा बर्फ हुँदै तिनकोरिया चौक हुलाकी राजमार्गसम्म पक्की सडक, हाँसपट्टीदेखि बैरिया हुँदै भारत बोर्डरसम्म सडक, लोहना बसहिया बिन्धी सडक, बिसपिट्टी वाटिका चौकदेखि तपनपुर हुँदै दोहरसम्म र ढल्केवर शिवनगर बटेश्वर सडकसम्मा निर्माण गर्ने योजना रहेको छ।

महोत्तरीमा बर्दिबास तामांग टोलदेखि रातमाता, भ्यागुते राई मण्डल पिकनिक स्पोट्र्ससम्म, जिरो माइल गौशाला बजार (महोत्तरी) फुलकाहा जयपुर हरिपुर्वा मलंगवा (सर्लाही) कालोपत्रे सडक, भंगहा सग्रामपुर पुलदेखि भावानिगंज अग्लेशेरा हुँदै बैरियासम्म, महोत्तरी बजारदेखि अनौठा भएर भगवानपुर चौकसम्म, पतैली सुगा सिमरदही प्रकौली सडक, सकरी बोर्डर हलखोरी एकडारा साँढा जाउखचौक गोनरपुरा गोरगामा बदिया, कबिलाशा कठुधार सिहासनी शिवनगर सुन्दरपुर मगरथाना हुँदै कतरवा टोलसम्म र  सम्सी गैढादेखि रामगोपालपुर टिकुलिया बजार म्म सडक स्तरोन्नति कार्य रहेको छ।

यस्तै सर्लाहीमा चन्द्रनगरको नायुटोल बरकुर्वा कलावती बजार हुँदै ईश्वरपुरको तिन्धरिया भक्तिपुर सडक कालोपत्रे तथा नाला निर्माण, लालबन्दी बाहुनीदेखि इश्वरपुर कालिन्जोरसम्म सडक, हरिपुर्वा बजार चौकदेखि इश्वरपुर सुकनाहा हुँदै हरिपुर्वा मिचैंया बजारसम्म सडक कालोपत्रे तथा नाला निर्मा, कविलासी भालुवाहादेखि मलंगवा पाल्सी हुँदै मलंगवा जिल्ला प्रसासन कार्यालय जाने बाटो जितेन्द्र यादवको घरसम्म, हरवन चिनी मिल बालगंगा चरिक बसवरिया गाउँपालिका सहोडवादेखि मन टोल लौटक, पुरैनिया, पटोरिया टोल, गंगापुर हुँदै बरहथवा नगरपालिका ९ मुर्तियासम्म, धनकौल छठीघाट देखि महिनायपुर नहर-मलघटा हुँदै धोबिनिया भगिरथ महतोको घरनजिकको कालोपत्रेसम्म सडक ६.५ कि.मि र गोदैता २ जनता आधारभूत विद्यालयदेखि गोदैता सिमरा र पिपर्नाथ हुँदै गोर्दैता बहादुरपुर प्रहरी चौकीसम्म कालोपत्रे सडक-५ किलोमिटर रहेको छ।

रोतहटमा विरेन्द्र राजमार्गको भेडियाहीदेखि राजपुर तुलसी सरुअठा हुँदै झुन्खुन्वासम्म, माधवनारायण रजवडादेखि मिठुअवा, खेसरहिया हुदै सुकदेव चौक पिपरा बजार सडक, राजपुर डमार पानिटंकी कुडिया पुल डुमरीया लतमरी बोर्डर (मठिया बजार-लतमरी बोर्डर), कालोपत्रे मौलापुरको सिमानामा पर्ने बौधिमाई मन्दिरदेखि ईनर्वा मटिर्वा हुदै इनरवारी जिउताही ब्रहमबाबाको मन्दिरसम्म कालो पत्रे, हर्षाहा- बक्तौरा- रंगपुर बलुवा कनकपुर लक्ष्मीपुर- बेदौली हर्षाहा रिंगरोड (हर्षाहा-बक्तौरा), कटहरिया बडेर्वा जंगलसहिया सिमरी धनसर सडक, वृन्दावन विश्रामपुर रजैया सडकदेखि मुहुअवा, नरकटिया हुँदै हर्दिया स्कुलसम्म सडक र मलाही टोल बजारदेखि पर्साटोल मदनपुर हुँदै बागमती बाँधसम्म रहेको छ।

बारामा कोल्भी खैरा परसौना जैतापुर सिमरा सडक, सिमौनगढ बजार नयका टोल रामनगर चरमोहना पसुरामपुरसम्म, बरियारपुर गजभवानीपुर मधुवन नयाँ बस्ती बरियारपुर, मझरिया मेन नहरदेखि दक्षिण मुश हर्ना चरमोहना बगही जमुनिया बोर्डरसम्म, जोतपुरदेखि निलकण्ठवा, मटिअर्वा, वसतपुर हुँदै फुलवरिया, सितलपुर मठसम्म, गम्हरगांवा, बकुलिया हुँदै फरहदवा र प्रसौनी बजारदेखि दक्षिण नकटुवा नहर हुँदै इटियाही विश्रामपुर कार्यालय मुसहर्वा बलिरामपुर जोडने सडक निर्माण गरिने छ भने पर्सा हिमाल अक्सिजन गेटदेखि चोरनी, लक्ष्मीपुर, परुत्तवा, सोलाखपुर हुँदै टेढा मन्दिरसम्म जाने बाटो, पसां (ख) भित्रका शहरी सडकको स्तरोन्नती, डार्कला बहुअरी चैनपुर एकटाँगा हुँदै वागवाना कोइलाभार मन्दिर सम्म, विरगंज अठराहा चौकदेखि अठराहा छठघाट हुँदै सिसिपाडी बैरियासम्म, भैराटार-विधामपुरबाट महुवन एकडारवा लखनपुर-बलुवा हुँदै कटैया सडक, धीरे बोर्डर हसवा रानीगंज लखनपुर हुलाकी सम्म, शंकर सरैया सखवानिया-हरैया लाटोमाई सेवा जितपुर सड़र चिनी मिल (पदम सडक फुलवरिया वसन्तपुर हरिहरपुर विर्ता बिरंचीर्वा-२ मुडली रविदास बजारीसम्म रहेको भौतिका पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव संजयप्रसाद साहले बताउनुभयो।

मन्त्रालय अन्तर्गत सञ्चालित पहिलो चरणको सडक योजना अन्तर्गतका दुई सय किलोमिटर सडक निर्माण भइसकेको छ भने एक सय २० किलोमिटर सडक निर्माण हुन बाँकी रहेको छ।

रासस

Facebook Comments