Mon. Apr 29th, 2024

चीनको राजधानी पैचिंगमा सुरू अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल “थिम कन्ट्री”

काठमाडौं, २०७७ कात्तिक ११ गते मंगलबार

चीनको राजधानी पैचिंगमा आजदेखि शुरु १० दिने अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र “थिम कन्ट्री”का रुपमा प्रस्तुत गरिएको छ । नेपालको प्रतिनिधित्व गरेको साइनो नेपाल मिडिया सोसाइटीले विश्व प्राकृतिक सम्पदा सूचीमा सूचीकृत नेपालका चितवन तथा सगरमाथा राष्ट्रिय निकुञ्जका ५० तस्वीर समावेश गरेको छ ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालय र पैचिंग महानगरपालिका जनसरकारले संयुक्तरुपमा आयोजना गरेको “बिआरआई विश्व प्राकृतिक सम्पदा अन्तरराष्ट्रिय फोटो प्रदर्शनी”मा “थिम कन्ट्री”का रुपमा नेपाललाई मात्रै छुट्टै स्थान दिई विशेष प्रदर्शनी कक्ष व्यवस्था गरिएको छ ।

नेपाल समाज अनलाईनका अनुसार प्रदर्शनीमा राखिएका हरेक तस्वीर तथा नेपालसम्बन्धी जानकारी चिनियाँ र अंग्रेजी भाषामा दिइएको छ । प्राकृतिक सम्पदाका व्यावसायिक फोटाग्राफर नारायण रिजाल, कोमल भागत, आशिष गुरुङ, आङ्रिता शेर्पा, वेदकुमार ढकाल, सागर गिरी, बाबुराम लामिछानेलगायतका तस्वीर प्रदर्शनीमा समाविष्ट छन् ।

नेपाल सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी थिम कन्ट्रीका रुपमा नेपाललाई प्रस्तुत गर्न र प्रदर्शनीस्थल निःशुल्करुपमा उपलब्ध गराउन सहआयोजक चाइना आर्ट फोटोग्राफी सोसाइटी र आफ्नो संस्थाबीच सहमति भएको साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले बताउनु भएको छ । आगामी दिनमा चीनलगायत विश्वका विभिन्न मुलुकमा आयोजना गरिने अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपालका तस्वीर समावेश गरी पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन सहकार्य गर्ने विषयमा पनि दुवै सोसाइटीबीच समझदारी रहेको पनि सोसाइटीले जनाएको छ ।

प्रदर्शनीका लागि आवश्यक डिजिटल भर्सनका फोटो वन तथा वातावरण मन्त्रायलबाट निःशुल्क उपलब्ध गराइएको थियो । पैचिंगस्थित नेपाली राजदूतावासको सहयोगमा नेपालको सहभागिताको व्यवस्थापन र खर्च सोसाइटीले नै गरेको हो ।

प्रदर्शनी उद्घाटनमा सहभागी नेपाली राजदूतावासका उपप्रमुख एवम् मिनिष्टर सुशीलकुमार लम्सालले प्रदर्शनीलाई नेपाल बुझ्ने झ्यालको संज्ञा दिँदै अवलोकनकर्ताले नेपालका बारेमा धेरै जानकारी लिन सक्ने बताउनु भयो । कोरोना भाइरसको महामारीको अन्त्य भएपछि नेपालको भ्रमण गर्न चिनियाँ नागरिकलाई प्रेरित गर्ने उहाँले विश्वास व्यक्त गरे ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, पैचिंग महानगरपालिकालगायत उच्चपदस्थ सरकारी अधिकारी तथा सञ्चारकर्मी उक्त अवसरमा उपस्थित थिए । सोसाइटीले यसअघि सिछुवान प्रान्तस्थित छन्तु, लशान, ह्वाहाई, काञ्च, पैचिंग लगायत शहरमा नेपालका कला, संस्कृति तथा पर्यटनसम्बन्धी एकदेशीय तस्वीर प्रदर्शनी गरिसकेको छ ।

Facebook Comments