Mon. Apr 29th, 2024

दसैं मान्न घर आएका युवामा कोरोना पुष्टि, पाँच दिनका लागि गाउँ ‘सिल’

बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा गाउँ । तस्बिर : अन्‍नपूर्ण पोष्ट

काठमाडौं, २०७७ कात्तिक ११ गते मंगलबार

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जा पाँच दिनका लागि सिल गरिएको छ । दसैं मनाउन घर आएका एक युवामा दसैंकै दिन कोरोना संक्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको वडा सदस्य खुम भण्डारीले जानकारी दिनुभयो ।

क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा सोमबार भारतबाट आएका युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित युवकलाई धौलागिरी अस्पतालको आइसोलेसनमा पठाइएको छ ।

ती युवक एक साताअघि भारतबाट सदरमुकाम बागलुङ बजार आएका थिए । बजार आएर होम क्वारेन्टिन बसेर केही दिनअघि मात्रै पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए ।

तर, स्वाबको पीसीआर रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिइ आएकाले गाउँ नै संक्रमणको जोखिममा परेको निष्कर्षसहित सिल गरिएको काठेखोला ३ धम्जाका वडा अध्यक्ष यामबहादुर श्रीसले जानकारी दिनुभयो ।

स्वाब दिएपछि कुनै लक्षण नभएकाले उनी गाउँमा परिवारका साथ दसैं मनाउन र साथीसंगीसँग गाउँघरका खेलकुदलगायतका कार्यक्रममा पनि सहभागी थिए । कोभिड १९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा ५ जना भन्दा बढी भेटघाट, भेला र आवत जावत गर्न नपाउने निर्णय गरेको छ ।

अध्यक्ष श्रीसका अनुसार, मंगलबार साँझ ७ बजेदेखि आगामी कात्तिक १५ गते राति १२ बजे सम्म लागू हुनेगरी दूध, निर्माण सामग्री, खाद्यान्नको अत्यावश्यक बाहेकका सार्वजनिक यातायात, मोटरसाइकल पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ ।

वडा कार्यालयले यस अवधिमा गाउँबासीलाई घरमै सुरक्षितरुपमा बस्न आग्रह गरेको छ । यस वडामा हाल सम्म भारत लगायतका ठाउँबाट आएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments