चिनियाँ राष्ट्रिय जनकांग्रेसको वार्षिक बैठक पैचिङमा सुरु
काठमाण्डू । चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जनकांग्रेसको वार्षिक बैठक सुरु भएको छ ।

चीनको राजधानी पैचिङस्थित जन बृहत् सभा भवनमा आज बिहान चिनियाँ समय अनुसार ९ बजे सो बैठक सुरु भएको हो । ८ दिने उक्त बैठक अवधिमा चीनका विभिन्न ठाउँ, विभिन्न जाति, विभिन्न व्यवसायका २ हजार ७०० भन्दा बढी प्रतिनिधिहरूले सरकारी कार्य प्रतिवेदनमाथि समीक्षा गर्ने, राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको पन्ध्रौं पञ्चवर्षीय योजनाको मस्यौदाको समीक्षा गर्ने, “जन गणतन्त्र चीनको पर्यावरणीय वातावरण संहिता (मस्यौदा)“, “जन गणतन्त्र चीनको राष्ट्रिय एकता र प्रगतिको प्रवद्र्धन कानून (मस्यौदा)“ र “जन गणतन्त्र चीनको राष्ट्रिय विकास योजना कानून (मस्यौदा)“ को समीक्षा गर्ने, सर्वोच्च जन अदालत र सर्वोच्च जनन्यायाधिवक्ता कार्यालयका कार्य प्रतिवेदनहरूको समीक्षा गर्ने, सन् २०२६ राष्ट्रिय आर्थिक र सामाजिक विकास योजनाको मस्यौदा र केन्द्र तथा क्षेत्रको बजेट मस्यौदा आदिको समीक्षा गर्ने कार्यतालिका रहेको छ ।
राष्ट्रिय जनकांग्रेस चीनको सर्वोच्च राज्य शक्ति निकाय पनि हो । यसको प्रत्येक कार्यकाल ५ वर्षको हुन्छ र प्रत्येक वर्ष एक पटक बैठकको आयोजना हुने गर्दछ । सो बैठकमा राष्ट्रका महत्वपूर्ण नीति, कानून र अधिकारीलाई नियुक्त गर्ने, हटाउने जस्ता मामिलाबारे छलफल र निर्णय हुने गर्दछ । यो चिनियाँ जनताले राष्ट्रिय शक्तिको प्रयोग गर्ने सर्वोच्च रूप हो, र चिनियाँ विशेषतायुक्त समाजवादी लोकतान्त्रिक राजनीतिको महत्वपूर्ण प्रदर्शन पनि हो । चालू वर्ष चौधौं राष्ट्रिय जनकाँग्रेसको चौथो बैठक हो ।
चीनमा प्रत्येक वर्षको मार्चको सुरुवातमा आयोजित राष्ट्रिय जनकांग्रेस र चिनियाँ राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनका वार्षिक बैठकलाई “दुईटा अधिवेशन” भनिन्छ । सिजीटिएनका अनुसार “दुईटा अधिवेशन” चीनको नीतिको दिशा निर्देशक मात्र होइन, विदेशले चीन हेर्ने महत्वपूर्ण झ्याल पनि हो ।
सन् २०२६ चीनको राष्ट्रिय आर्थिक र सामाजिक विकासको १५औँ पञ्चवर्षीय योजनाको सुरूवात हो । राष्ट्रिय जनकांग्रेसले ‘पन्ध्रौँ पञ्चवर्षीय’ योजनाको मस्यौदाको समीक्षा गर्नेछ साथै राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनले पनि मस्यौदाको बारेमा व्यापक परामर्श र सुझाव दिने अपेक्षा गरिएको छ ।

