Mon. Jun 15th, 2026

राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न आग्रह   

       

काठमाण्डू । चन्द्रसूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न आग्रह गरिएको छ ।

पूर्वमन्त्रीहरू ज्वालाकुमारी शाह, भगवती न्यौपाने, पूर्वराज्यमन्त्री विमला विक र राष्ट्रियसभाका सांसद भैरवसुन्दर श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरू पार्वती रावल, पार्वती विशुंके, अइन्द्रसुन्दर नेम्वाङ, सूर्य ढकाल, हरि राजवंशी, अफिलाल ओखडा, गोविन्द थापा र लेखक तथा विश्लेषक प्रा डा योगेन्द्र गुरुङ, डा पदम खतिवडा र सौरमराज तुलाधरलगायतले आज संयुक्त अपिल जारी गरी पछिल्लो समयमा नेपालको झण्डाको दुरुपयोग भएको भन्दै त्यसो नगर्न आग्रह गर्नुभएको हो ।

उहाँहरूले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड, डकैती, चोरीलगायत घटनामा पक्राउ परेकाले राष्ट्रिय झण्डा ओढेर झण्डाको दुरुपयोग गरेका भन्दै यसरी दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने मागसमेत गर्नुभयो ।

राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न आह्वान गर्दै अपिलमा लेखिएको छ, “राष्ट्रिय झण्डा हाम्रो एकताको प्रतीक हो, आफ्ना विचार तथा मुद्दा स्थापित गराउन राष्ट्रिय झण्डा प्रयोग गर्नु किमार्थ झण्डाको सम्मान गरेको र मर्यादा राखेको ठहर्दैन । निहित स्वार्थ राखेर राष्ट्रिय झण्डाको प्रयोग गर्ने कार्यलाई निषेध गरिनुपर्छ, आफ्नो निहित मुद्दा स्थापित गर्न राष्ट्रिय झण्डा देखाएर, झण्डा अगाडि सारेर जनतालाई भावनात्मक रूपमा बहकाउमा पार्नु अनैतिक हो ।”    रासस

Facebook Comments