Thu. Apr 18th, 2024

नख्खु कारागारमा आलमलाई कडा सुरक्षा, परिवारको सदस्य र उहाँकै वकिल वाहेक अन्यसँंग भेटघाटमा रोक

काठमाडौं, २०७६ कार्तिक ३० गते शनिबार ।

रौतहटबाट शनिवार राति अबेर ललितपुरस्थित नख्खु कारागारमा पुर्याईएका मोहम्मद आफताब आलमले गर्ने कुराकानी रेकर्ड हुने भएको छ । नख्खु कारागार प्रमुख सुरेन्द्र पौडेलले सो जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘आलमकै सुरक्षाका लागि यस्तो रोक लगाउनु परेको हो ।

आलमले आफन्त तथा कारागारभित्र अन्य कैदीवन्दीसँंग गर्ने संवाद र कुराकानीको समेत रेकर्ड बस्ने गरी सुरक्षाव्यवस्था मिलाइएको छ ’’ उहाँले थप्नुभयो,‘‘आफन्त परिवारका सदस्य र निजी वकिल वाहेक कसैसँंग भेटघाट गर्न दिइएको छैन ।’’ आलमसँंग आफन्त परिवारको सदस्य र उहाँकै वकिल वाहेक अन्यसँंग भेटघाटमा समेत रोक लगाइएको छ । प्रमुख पौडेलले आलमलाई अन्य सामान्य कैदी जस्तै गरी राखिएको स्पष्ट पार्नुभयो ।

गोरखापत्र अनलाईनका अनुसार आलमले जेलभित्र गर्ने गतिविधि सिसि क्यामेरामा कैद रहने छ भने सम्बादहरू रेकर्डबाट सुन्न सकिने व्यवस्था गरिएको छ । सुरक्षाको दृष्टिकोणले भन्दै प्रहरीले आलमलाई रौतहट जिल्ला कारागारमा नलिई थुनाका लागि नख्खु पुर्याईएको हो । करीव १२ वर्षअघि संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार आलमले चुनाव जित्नका लागि बम बिष्फोट गराइ घाइते समर्थकहरूलाई उपचार गर्नुका सट्टा जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

सो आदेशपछि आलमलाई जिल्लाकै कारागारमा थुनामा राख्दा असुरक्षा हुने भएकाले नख्खु पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

नेपाल– भारत सीमाको १२ किलो मिटर नजिक रहेको राजपुर नगरपालिका वडा नम्वर–४ निवासी आलमको पक्राउसँंगै रौतहट सीमा नाकामा अराजकता तथा अपराधिक गतिविधि बढेको प्रहरीले जनाएको छ ।

Facebook Comments