Sun. May 24th, 2026

‘उद्योगी र व्यापारी सरकारको उच्च प्राथमिकतामा’   

       

मोरङ, २०८२ जेठ २ गते शुक्रबार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमी एवं व्यापारीहरू सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

मोरङ उद्योग व्यापार सङ्घको ६८औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले विभिन्न उद्योग व्यापार सङ्घ सङ्गठनसँग छलफल गरी सरकारले एकीकृत व्यापार रणनीति तयार गरेकाले त्यसले उद्यमी व्यापारीहरूको समस्या सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री भण्डारीले सरकारले शासकीय प्रणालीभित्रका विभिन्न जटिलता हटाउन संसद् प्रतिस्थापन विधेयकका रूपमा पास गरी मुलुकको पुँजी बजारलाई चलायमान बनाउन र उद्यमीहरूमा रहेको निराशा हटाउने धारणा व्यक्त गर्नुभयो ।

उहाँले खनिजजन्य पदार्थको निर्यात खोजी अर्बौँ राजस्व वृद्धि गर्न आगामी वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा समावेश गर्ने जानकारी दिनुभयो । मन्त्री भण्डारीले स्वदेशी उद्योगद्वारा उत्पादित वस्तु प्रयोग, प्रोत्साहन गर्न सरकारले सार्वजनिक खरिद नियममा परिवर्तन गर्ने जानकारी दिनुभयो ।

भारतको हल्दिया र कोलकाताबाट सबै प्रकारका सामग्री विराटनगरमा रेल्वेमार्फत ढुवानी हुनेगरी भारत सरकारकातर्फबाट सहमति प्राप्त भएको जानकारी दिनुभयो ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेश सरकारले आद्योगिक एवं व्यापारमा रहेका झन्झटिलो नीतिलाई हटाइ सहज वातावरण बनाएको बताउनुभयो ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले प्रदेशमा एकद्वार नीतिमार्फत उद्योग स्थापना व्यवस्थाको सुरुआत भइरहेको जानकारी दिनुभयो । पूर्वमुख्यमन्त्री उद्धव थापाले मुलुकको अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्रलाई साथ लिएर हिँड्नुपर्ने सुझाव दिनुभयो ।

अन्य उद्योगी व्यवसायीहरुले मोरङ सुनसरी औद्योगिक क्षेत्रमा विद्यृत निरन्तर उपलब्ध गराउन तथा सुनसरीको बर्जु गाउँपालिकास्थित अमडुवामा औद्योगिक ग्राम स्थापनाका लागि आग्रह गर्नुभयो । रासस

Facebook Comments