Sat. May 4th, 2024

बडा दशैं आजबाट सुरु, घटस्थापनाको साइत बिहान ११ः४६ बजे

काठमाडौं, २०७७ कात्तिक १ गते शनिबार

आजदेखि हिन्दु धर्मावलम्बी नेपालीहरुको महान पर्व बडा दशैं सुरु भएको छ । विजयादशमीको पहिलो दिन आज (शनिवार) घरघरमा कलश स्थापना गरी घटस्थापना गरिँदैछ । घटस्थापनासँगै आज घरघरमा जमरा राखिन्छ ।

प्रत्त्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने १० दिने दशैं आजदेखि सुरु भएको हो । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । यस दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने प्रचलन छ ।

यसका साथै नदी किनारको चोखो बालुवा ल्याएर जौं वा मकैंको जमरा राख्ने चलन छ । यसरी राखिएको जौं विजयादशमीका दिन रातो टीकासँगै देवीको प्रसादका रुपमा ग्रहण गर्ने गरिन्छ । घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको बताईएको छ ।

विभिन्न शक्तिपीठहरुमा आजदेखि पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ भए पनि यस पल्ट महामारीको रुपमा विश्वभरी फैलिएको कोरोना भाईरस सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ ।

Facebook Comments