Thu. May 9th, 2024

सुनसरीमा अनिश्चितकालिन निषेधाज्ञा : दलका कार्यक्रम र मन्दिरमा पूजापाठ गर्न प्रतिबन्ध

सुनसरी, २०७७ असोज ३० गते शुक्रबार

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबारबाट जिल्लाभर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।

सुनसरीमा शिक्षित वर्गबाटै कोरोना संक्रमणलाई बेवास्था गर्दै चरम लापरवाही गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताउनु भएको समाचार अन्नपूर्ण पोष्ट दैनिक अनलाईनले लेखेको छ ।

सुनसरी प्रशासनले जिल्लाका १२ वटै स्थानीय निकायमा राजनीतिक दललाई कार्यक्रम गर्न, मन्दिर, मञ्जिद, गुम्बा, चर्चमा भेला भएर पूजापाठ गर्न, दसैंतिहार शुभकामना आदान प्रदान र शिलन्यास गर्न पुरै प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भएको छ ।

पछिल्लो समय सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्ष कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दलले कार्यकर्ता भेला गरेर पार्टी प्रवेश गर्दा धेरै संक्रमण फैलिएको छ। दलहरुका अवैध कार्यक्रमका कारण सुनसरीमा सयौं नेता तथा कार्यकर्ता समेत संक्रमित भएका छन्।

प्रमुख जिल्ला अधिकारी पोखरेलले सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधाज्ञा जारी गरी सबै स्थानमा प्रहरी परिचालन गरेर कडाई गरिएको पनि जानकारी दिएका छन्। शुक्रबारबाट सुनसरीका धरान, इटहरी, इनरुवा, झुम्का, दुहबी लगायतका क्षेत्रमा प्रहरी परिचालन गरी सामूहिक भेला हुनसमेत प्रतिबन्ध लगाइएको छ।

दसैं नजिकिदै गएको समयमा मठमन्दिर शक्तिपिठमा सर्वसाधारण भेला भएर पूजापाठ गर्ने र बलिदिने कार्यले झन् संक्रमण बढ्ने भएकाले सामूहिक रुपमा पूजापाठ, भजन कीर्तन र बलि दिन समेत प्रतिबन्ध लगाइको प्रजिअ पोखरेलले जानकारी दिएका छन्।

स्थानीय प्रशासनले लगाइएको निषेधाज्ञाको समयमा जो कसैले उलंघन गरेको संक्रमण ऐन २०२० अनुसार कडा कारबाही गर्ने पनि पोखरेलले चेतावनी दिनु भएको छ ।

Facebook Comments