Wed. May 6th, 2026

इसाई धर्मगुरु पोप फ्रान्सिसको निधन

       

भ्याटिकन सिटी, २०८२ वैशाख ८ गते सोमबार । इसाई धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ । पोपको भ्याटिकन सिटीमा निधन भएको बीबीसले जनाएकाे छ । भ्याटिकन सिटीले एक वक्तव्यमार्फत उनको निधन भएको जानकारी दिएको छ ।

‘प्रिय दाजुभाइ र दिदीबहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधनको घोषणा गर्नुपर्दछ’, कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा भनेका भन्नुभएको छ, ‘आज बिहान ७ः३५ बजे (०५३५ जिएमटी) रोमका बिशप, फ्रान्सिस, पिताको घरमा फर्किनुभयो, उहाँको सम्पूर्ण जीवन प्रभु र उहाँको चर्चको सेवामा समर्पित थियो ।’

गम्भीर बिमारीपछि आराम गरिरहनुभएका पोपले आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेर भ्याटिकनमा भक्तहरूको भीडलाई प्रसन्न तुल्याएका र ठीक एक दिनपछि उहाँको निधन भएको वक्तव्यमा भनिएको छ ।

फ्रान्सिस यस वर्ष निमोनियाबाट पीडित हुँदा दुई पटक मृत्युको नजिक पुग्नुभएको थियो । मार्च २३ मा डिस्चार्ज हुनुअघि उहाँले अस्पतालमा ३८ दिन बिताउनुभएको थियो ।

आइतबार उहाँले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई हात हल्लाउँदै ‘शुभ इस्टर’ भन्दै शुभकामना दिनुभएको थियो  । उहाँले आफ्नो परम्परागत ‘उर्बी एट ओर्बी’ (सहर र विश्वलाई) विचारको स्वतन्त्रता र सहिष्णुताको आह्वान गर्दै आशीर्वाद दिनुभएको थियो । एजेन्सी

Facebook Comments