Wed. May 6th, 2026

राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट  

राष्ट्रपति रामचन्द्र पौडेलसँग मङ्गलबार राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे नेपालको केन्द्रीय कार्यसमिति परिवार राष्ट्रपति भवन शीतलनिवासमा भेटघाटपश्चात् राष्ट्रपति पौडेलसँग एनएफपिजे टोली । तस्बिरः अनिश रेग्मी/राष्ट्रपतिको स्वकीय फोटो पत्रकार/रासस

       

काठमाण्डू, २०८१ चैत २६ गते मंगलबार । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट तथा छलफल गरेको छ । आज एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तसहितको टोलीले शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गर्दै फोटो पत्रकारहरूको सुरक्षा चुनौतीलगायतका विषयमा छलफल गरेको हो ।

भेटमा राष्ट्रपति पौडेलले भन्नुभयो, “तपाइँहरूले खिच्नुभएका तस्बिरले समाजमा सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसकारण, राज्यले तपाइँहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्ने छ ।”

सो क्रममा अध्यक्ष वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न जीवन बिमालगायतका सुविधा उपलब्ध गराउन पहल गरिदिन राष्ट्रपति पौडेललाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “फ्रन्टलाइनमा खटेर देशभर फोटो पत्रकारिता गरिरहेका फोटो पत्रकारहरू उच्च जोखिममा रहेर काम गर्नु परिरहेको बाध्यात्मक अवस्था छ । राज्यले सबैलाई सुरक्षाको सुनिश्चितता गर्दै जीवन बिमालगायतको सुविधा उपलब्ध गराउनुपर्छ ।”

राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको मागलाई गम्भीरताका साथ लिएको र यसका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको महासचिव घनश्याम श्रेष्ठले बताउनुभयो । एनएफपिजे नेपालले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा वैशाख १३ गते गर्न लागेको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०२५ को प्रमुख अतिथिका रुपमा सहभागी भई दिन राष्ट्रपतिलाई आग्रह गरेको छ ।

भेटघाटमा एनएफपिजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ, उपाध्यक्ष सुनिल शर्मा, महिला उपाध्यक्ष चन्द्रकला क्षेत्री, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रवीन कुलुङ राई, कोषाध्यक्ष प्रदीप कुमार श्रेष्ठलगायत अन्य केन्द्रीय सदस्यहरूको उपस्थिति थियो ।  रासस

Facebook Comments