नेपाल बार एशोसिएसनको निर्वाचन आज, ९ हजार ९ सय ९७ जनाले मतदान गर्ने

रमेश हतुवाली/विराटनगर, २०८१ चैत २३ गते शनिबार । नेपाल बार एशोसिएसनको २७ औं केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुँदैछ ।
स्वतन्त्र न्यायपालिका र मानवअधिकारको पहरेदारको रुपमा स्थापित सो संगठनको आज हुने निर्वाचनमा ९ हजार ९ सय ९७ जना कानून व्यवसायीहरुले ३६ वटा मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । अहिले बिहान ८ बजदेखि दिउसो ४ बजेसम्म मतदान हुने यस निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको नेपाल बार एशोसिएशनले जनाएको छ ।
यस निर्वाचनमा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमन कुमार श्रेष्ठ र वरिष्ठ अधिवक्ता डाक्टर विजय प्रसाद मिश्रको प्यानलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । वरिष्ठ अधिवक्ता श्रेष्ठले यस निर्वाचनमा व्यावसायिक कानून व्यवसायी समूहको नेतृत्व गर्नुभएको छ भने डा. मिश्रले बृहत लोकतान्त्रिक, प्रगतिशील पेसागत, राष्ट्रवादी तथा समावेशी कानून व्यावसायी समूहको नेतृत्व गर्नुभएको छ ।
वरिष्ठ अधिवक्ता श्रेष्ठले संविधान संशोधन र न्यायापालिकाको पुनसंरचना, स्वतन्त्र, सक्षम, जवाफदेही र भ्रष्टाचारमुक्त न्यायपालिका, कानून व्यवसायीहरुको इज्जत प्रतिष्ठा र व्यावसायिक सुरक्षा, दक्षता अभिवृद्धिका लागि विशेष कार्यक्रम, कानून व्यवसायीलाई नवीनतम् सूचना प्रविधि र कृत्रिम बौद्धकता एआईसँग अभ्यस्त बनाउने, अन्तर्राष्ट्रिय मञ्चमा बारको उपस्थिति प्रभावकारी बनाउने, बार र न्यायापालिकालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराई जनतालाई न्याय प्रदान गर्ने लगायतका महत्वपूर्ण प्रतिवद्धताहरु व्यक्त गर्नुभएको छ । सत्ता गठबन्धन दल नेकपा एमाले र नेपाली कांग्रेसले बार एशोसिएशन जस्तो गरिमामय र प्रतिष्ठित संगठनमा समेत राजनीतिक हस्तक्षेप गरेर उम्मेदवारी चयनमा समेत दखल पुर्याएको अध्यक्ष पदका उम्मेदवार श्रेष्ठको भनाइ छ । त्यसैले उहाँले नेतृत्व गर्नुभएको प्यानलले राजनीतिक हस्तक्षेपरहित बार र स्वतन्त्र न्यायपालिकाको पक्षमा मतदान गर्न आम कानून व्यवसायीहरुलाई आग्रह गरेको छ । वरिष्ठ अधिवक्ता श्रेष्ठले यस निर्वाचनमा विचारको आधारमा होइन, विवेकको आधारमा नेतृत्व छान्न आग्रह गर्नुभएको छ ।
श्रेष्ठले नेतृत्व गर्नुभएको प्यानललाई वरिष्ठ अधिवक्ता तथा कानून व्यवसायीहरुका पिता कृष्ण प्रसाद भण्डारी, वरिष्ठ अधिवक्ताहरु विपुलेन्द्र चक्रवर्ती, रमेश कोइराला, एकराज भण्डारी, चण्डेश्वर श्रेष्ठ, कपिल चन्द्र पोख्रेल लगायतको समर्थन रहेको छ । श्रेष्ठको प्रस्तावकमा वरिष्ठ अधिवक्ता शम्भु थापा र समर्थकमा वरिष्ठ अधिवक्ता सुशील पन्त रहनु भएको हुनाले पनि यस निर्वाचनमा श्रेष्ठले निर्णायक मत पाउने देखिएको छ ।
वरिष्ठ अधिवक्ता श्रेष्ठले चुनावी प्रचार प्रसारका क्रममा मेचीदेखि महाकालीसम्मको यात्रामा पनि सम्बन्धित क्षेत्रका कानून व्यवसायीहरुबाट सक्दो समर्थन गर्ने प्रतिवद्धता प्राप्त गर्नुभएको हुनाले पनि उहाँको पक्षमा जनमत भारी देखिएको हो । अर्कातिर उम्मेदवार चयनका क्रममा लोकतान्त्रिक कानून व्यवसायी समूहका तर्फबाट पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता योगेन्द्र बहादुर अधिकारी लगायतका अध्यक्ष पदका आकांक्षी र योग्य उम्मेदवारहरुलाई समेत सत्तागठबन्धन दलका नेताहरुले पाखा लगाएको हुनाले पनि असन्तुष्ट समूहको मत श्रेष्ठले पाउने केही वरिष्ठ अधिवक्ताहरुको ठम्याई छ ।
अर्कातिर डा. मिश्रले नेतृत्व गर्नुभएको बृहत लोकतान्त्रिक, प्रगतिशील पेसागत, राष्ट्रवादी तथा समावेशी कानून व्यावसायी समूह संख्यात्मक रुपमा आफूहरु वलियो भएको हुनाले निर्वाचनमा सहजै जित हासिल गर्ने मनस्थितीमा रहेको छ । प्राध्यापक डा. मिश्रको प्यानललाई नेपाल बारका पूर्व अध्यक्षहरु वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का, शेर बहादुर केसी, वरिष्ठ अधिवक्ता सीताराम केसी र नेपाल बारका पूर्व उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई लगायतको समर्थन रहेको छ । यस प्यानलले स्वतन्त्र न्यायपालिका, विधिको शासन, संविधानवाद र मानव अधिकारका पक्षमा वकालत गरेको छ ।