व्यावसायिक कानून व्यवसायी समुहका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम सम्पन्न
- नेपाल बार एशोसिएशन निर्वाचन, २०८१

रमेश हतुवाली/काठमाण्डू, २०८१ चैत २१ गते बिहीबार । नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमितिको यही चैत २३ गते शनिबार हुने निर्वाचनका लागि व्यावसायिक कानून व्यवसायी समुहका उम्मेदवारहरुले परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।
काठमाण्डू बबरमहलमा हिजो बुधबार साँझ आयोजित एक भव्य समारोहमा वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले नेतृत्व गर्नुभएको सो समूहका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
सो समारोहमा पूर्वमहान्यायाधिवक्ता समेत रहनु भएका वरिष्ठ अधिवक्ता श्रेष्ठले संविधान संशोधन र न्यायापालिकाको पुनसंरचना, स्वतन्त्र, सक्षम, जवाफदेही र भ्रष्टाचारमुक्त न्यायपालिका, कानुन व्यावसायीहरुको इज्जत प्रतिष्ठा र व्यावसायिक सुरक्षा, दक्षता अभिवृद्धिका लागि विशेष कार्यक्रम, कानून व्यवसायीलाई नवीनतम् सूचना प्रविधि र कृत्रिम बौद्धकता एआईसँग अभ्यस्त बनाउने, अन्तर्राष्ट्रिय मञ्चमा बारको उपस्थिति प्रभावकारी बनाउने, बार र न्यायापालिकालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराई जनतालाई न्याय प्रदान गर्ने लगायतका विभिन्न प्रतिवद्धताहरु गर्नुभएको छ ।
वरिष्ठ अधिवक्ता श्रेष्ठले यस निर्वाचनमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले बारको भूमिका कमजोर बनाउँदै न्यायपालिकामा प्रत्यक्ष प्रभाव पार्ने उद्धेश्य अनुरुप उम्मेदवार चयनका लागि गठबन्धन गरी बारमा राजनीतिक हस्तक्षेप सृजना गरेको जानकारी दिनुभयो । अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले न्यायपालिकाकालाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनु सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभयो । कानून व्यवसायमा जीवनका अमूल्य समय विताएकाहरुलाई पाखा लगाउँदै कानून व्यवसायमा भन्दा अन्य पेसामा बढी समय र ध्यान दिने मानिसहरुलाई नयाँ नेतृत्वमा ल्याएर बारलाई प्रतिपक्षीको भूमिकाबाट अलग्याउँदै न्यायपालिकामा हस्तक्षेप बढाउन सत्ता गठबन्धन क्रियाशिल रहेको वरिष्ठ अधिवक्ता श्रेष्ठको भनाइ छ ।
श्रेष्ठको प्रस्तावकमा वरिष्ठ अधिवक्ता शम्भु थापा र समर्थकमा वरिष्ठ अधिवक्ता सुशील पन्त रहनु भएको छ । श्रेष्ठको प्यानलमा उपाध्यक्षहरू कोशीमा कर्णबहादुर थापा, मधेसमा प्रमोद प्रसाद, बागमतीमा डेकेन्द्रप्रसाद सुवेदी, गण्डकीमा सुकदेव गौतम, लुम्बिनीमा तीर्थराज ज्ञवाली, कर्णालीमा धर्मराज न्यौपान र सुदूरपश्चिममा पदमराज शर्मा रहनु भएको छ । त्यस्तै महिला उपाध्यक्षमा दीना श्रेष्ठ उम्मेदवार रहनु भएको छ । महासचिवमा यज्ञमणि न्यौपाने हुनुहुन्छ । कोषाध्यक्षमा दीपक राई उम्मेदवार बन्नुभएको छ ।
त्यसैगरी सदस्यहरुमा अधिवक्ता रामबहादुर मिजार, अधिवक्ता सञ्जु कुमारी शाह, अधिवक्ता देव शरण यादव, अधिवक्ता निश्चल राई, अधिवक्ता देवकुमार मोक्तान, अधिवक्ता कला त्रिताल, अधिवक्ता सुलोचना बज्राचार्य, अधिवक्ता कृष्ण प्रसाद आचार्य, अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता रामलाल श्रेष्ठ, अधिवक्ता सुनिल कुमार पटेल, अधिवक्ता वीरेन्द्र खड्का, अधिवक्ता कान्तिराम ढुंगाना र अधिवक्ता जमुना भुसाल खनाल रहनुभएको छ ।