प्रधानमन्त्री ओली थाइल्यान्डमा

बैंकक, २०८१ चैत १९ गते मंगलबार । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको बैंकक आइपुग्नु भएको छ ।
प्रधानमन्त्री ओली आज साँझ स्थानीय समय अनुसार ६.१५ बजे बैंकक आइपुग्नुभएको हो । उहाँलाई सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गर्नुभयो ।
थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक-विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत हुनुहुन्छ । रासस