Wed. Mar 19th, 2025 12:27:05

ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित एकजना पक्राउ

काठमाण्डू, २०८१ चैत ५ गते मंगलबार । राजश्व छली गरी विभिन्न देशका मुद्राहरु अवैध रुपमा ओसार पसार र कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

चैत्र ४ गते राति ११ बजे काठमाण्डूको टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना.७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिव २५ करोड रुपैयाँ प्रहरीले बरामद गरेको हो । बरामत भएका विदेशी मुद्राहरुमा अमेरिकी डलर, युरो लगायतका रहेको प्रहरीले बताएको छ ।

आज पत्रकार सम्मेलन गरी काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले विशेष सुराकीका आधारमा रसुवातर्फ जाँदै गरेका बेलामा सो रकम नियन्त्रणमा लिइएको जानकारी दिनु भयो । रकमसहित पक्राउ पर्नेमा ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ का फुच्चे भन्ने कुसाङ लामा रहेका छन् । खानतलासीका क्रममा ट्रकको ड्राइभर बस्ने कोठाको माथिल्लो भागमा फल्सबटम बनाइ लुकाई छिपाई ल्याएको अमेरिकी डलर र युरो भेटिएको प्रहरीले बताएको छ । बरामद रकममा अमेरिकी डलर १ सय दरका नोटहरु ३ हजार १ सय १९, अमेरिकी डलर ५० दरका नोटहरु १७९, युरो ५ सय दरका थान ११, युरो २ सय दरका थान ४८०, युरो १ सय दरका थान ४ हजार १ सय ४८, युरो ५० दरका थान १७ हजार १ सय ७७ र मोबाइल २ थान बरामद भएको उहाँँले बताउनु भयो ।

४३ वर्षका लामा पहिला पनि एक पटक पक्राउ परी जेल चलान भइसकेको व्यक्ति भएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

Facebook Comments