Fri. Mar 28th, 2025

आजदेखि सछुवान एयरको पोखरा-छन्दू नियमित उडान सुरुहुँदै

भिओके समाचार/काठमाण्डू, २०८१ चैत ५ गते मंगलबार । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा चीनको सछुवान प्रान्तस्थित छन्दू शहरबाट नेपालको पर्यटकीय राजधानी पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ ।

सछुवान एयरलाइन्सले सछुवान प्रान्तीय जनसरकारको सहयोगमा आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो ।

यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने नेपाल पर्यटन बोर्डले बताएको छ ।

‘पोखरा-छन्दू उडानले मध्य र पश्चिम नेपालका यात्रुहरूका लागि कम खर्चमा सहज पहुँचका साथै चिनियाँ पर्यटकहरूलाई सुन्दर सहर पोखराको अवलोकन गर्ने अवसर प्रदान गर्नेछ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’यो नयाँ हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुर्याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

यस हवाई उडानबाट दुई देशका शहरहरू जोडिँदा आपसी मित्रता र सहकार्य थप बलियो हुने बताईएको छ । आज छन्दूबाट पोखरा आउने सछुवान एयरलाइन्समार्फत हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा-छन्दू फ्लाइट प्रमोसन एण्ड चाइना (सछुवान) सेल्स मिसन २०२५’का लागि सछुवान पुगिसेको छ । नेपाली प्रतिनिधिमण्डलको टोलीले प्रदेशको राजधानी सहर छन्दू, पर्यटकीय सहरहरू लुचौ, अमै शान र लशानका साथै छोङछिङ महानगरलगायतका चिनियाँ शहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ।

‘यी प्रयासहरुले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्नेछ,’ बोर्डको विज्ञप्तिमा उल्लेख छ।

नेपाल पर्यटन बोर्डले यस ऐतिहासिक पहललाई सफल बनाउन सहयोग गर्ने सछुवान एयरलाइन्स, सछुवान प्रान्तीय जनसरकार, पोखरा पर्यटन परिषद् र सबै सरोकारवालाप्रति आभार व्यक्त गरेको छ । विज्ञप्तिमा थप भनिएको छ, ‘यस नयाँ हवाई सम्पर्कले सांस्कृतिक आदान–प्रदानलाई अझ सघन बनाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न थप सहयोग हुने अपेक्षा गरिएका छ ।’

हाल छन्दूबाट एअर चाइना र सछुवान एअरलाइन्सले काठमाण्डूमा दैनिक एएटा एक उडान गरिरहेका छन् । चीनका विभिन्न सहर मात्र नभएर विश्वका विभिन्न हवाइ गन्तब्यसँग जोड्ने छन्दू प्रमुख ट्रान्जिट विन्दू पनि हो ।

Facebook Comments