Fri. Apr 26th, 2024

गायक निश्चल नेपाल भन्नु हुन्छ: “नेपाली कला र संगित मेरो रगतमा छ”

- प्रवासी कलाकारको संघर्ष र सफलता

काठमाडौं, २०७७ असोज ११ गते आईतबार

मोरंग जिल्लाको उर्लावारीदेखि राजधानी काठमाडौं हुँदै भाग्य, भविष्य अनि अवसरको खोजीमा  ८ वर्ष पहिले परिवारसहित सात समुद्र पारीको विरानो मुलुक क्यानाडा पुग्नु भएका निश्चल नेपाल गायन तथा नाट्य विधा मार्फतअल्बर्टामा रहेका नेपाली समुदायबीच लोकप्रिय र परिचित हुनुहुन्छ ।

क्यानाडाका प्रमुख शहरहरुमा गायन कला प्रस्तुत गरिसक्नु भएका निश्चल सयुक्त राज्य अमेरिकाका विभिन्न शहरहरुमा पनि बेला मौकामा प्रस्तुती दिँदै हिँडीसक्नु भएको छ । नेप्लिज क्यानेडियन एशोसिएशन अफ एडमण्टनसंग आवद्ध निश्चलले एडमण्टनमा आयोजना गरिने प्राय जसो कार्यक्रमहरुमा स्थानीयहरुलाई गीत र नाटक मार्फत मनोरञ्जन दिने गर्नुभएको छ ।

 

एक दर्जन भन्दा बढी नाटकहरुमा मुख्य भुमिका निर्वाह गरिसक्नु भएका निश्चलले क्यानाडामा समसामयिक विषयमा नाटकहरु अभिनय तथा निर्देशन गर्नुभएको छ । वाल्यकालदेखि व्यवसायिक कलाकारितामा स्थापित हुने लक्ष्य राख्नु भएका निश्चलको क्यानाडा बसाई पछि भने लक्ष्य मोडिएको छ । भ्वाईस अफ काठमाडौंसँगको कुराकानीमा उहाँ फुर्सदको समयलाई कलाकारिता मार्फत सामाजिक रुपान्तरण गर्ने बताउनु हुन्छ ।

निश्चल नेपालको जीवन भोगाईका घुम्तीहरु

वि.सं. २०४१ साल असोज ११ गते मोरंग जिल्लाको इटहरास्थित झुनावारी गाउँमा जन्मिनु भएका निश्चल नेपाललाई ४ बर्षको उमेरमा आमा धनेन्द्र देबी नेपालले सुनसरी जिल्लाको सुन्दर नगरी धरानस्थित प्रभात ईंगलिस बोडिंग स्कुलमा भर्ना गराउन लानु भएको सम्झना यत्तिवेला पनि ताजै छ । ४ वर्षको उमेरमा झुनाबारीबाट गाउँका शिक्षकले साईकलमा राखेर उर्लाबारी ल्याउदै गर्दा साईकलबाट लडेर खुटामा चोट लागेको कुरा अझै विर्सनु भएको छैननिश्चलले।

“विदेशी भूमिमा रहेर पनि नेपाली कला, संस्कृति र परम्परालाई निश्चलले भुल्नु भएको छैन । गायन र अभिनय क्षमताकै कारण उहाँ क्यानडामा सेलीब्रेटीका रुपमा परिचित हुनुहुन्छ ।”

विद्यालय शिक्षाको कुरा गर्दा नेपाल परिवारका ७ जना छोरा छोरी मध्ये निश्चलले मात्र सानैदेखि ईंगलिस स्कुल पढ्ने सौभाग्य पाउनु भएको थियो। सानैदेखि घरबाट बाहिर बाहिरै रहेर ईंगलिस स्कुलमा अध्ययन गर्नुभएका निश्चलले लामो समय घर बस्न पाउनु भएन। उहाँको जीवनमा नयाँ मोड त्यतिवेला आयो जब धरानमै आई.एस्सी. पढ्दा उहाँको आँखा उर्लावारीकी गीता कटुवालसँग जुध्यो । निश्चल र गीताको पहिलो भेट नै जीवनको महत्वपूर्ण क्षण बन्यो । निश्चलले गीतालाई प्रेम मात्र गर्नु भएन बरु २०६५ साल  फागुनमा गीताको सिउदोमा सिन्दूर भरेर निश्चलले गीतालाई जीवन संगिनी पनि बनाउनु भयो । आँखा जुध्दै प्रेम हुने र केही पनि पछि सानो खट्पटीले सम्बन्ध विग्रने जस्तो प्रेम गीता र निश्चलको थिएन ।  निश्चल भन्नु हुन्छ: ‘प्रेम के हो त्यो मलाई राम्ररी थाहा छ, प्रेममा आकर्षण मात्र होइन विश्वास पनि हुनुपर्छ ।’

 

निश्चल घरमा हुँदा दिनभरी कोठामा बसेर निरन्तर पढ्ने गर्नुहुन्थ्यो। घरमा साथीभाइ, आफन्त आउँदा पनि उनीहरुसँग गफ नगरि एकोहोरो पढिरहनु हुन्थ्यो। त्यसैको परिणाम हुनुपर्छ उहाँ कक्षामा जहिले पनि कि प्रथम, कि द्वितीय कि तृतिय श्रेणिमा उतिर्ण हुने गर्नुहुन्थ्यो । तर उहाँले चौथो कहिल्यै हुनु परेन । कलेजमा पनि उहाँले कहिल्यै चौथो हुनु परेन । समग्रमा भन्दा उहाँ अध्ययनशिल र जेहन्दार विद्यार्थी हुनुहुन्थ्यो । निश्चल पढाईसँगसँगै कला क्षेत्रमा पनि सानै देखि अब्बल हुनुहुन्थ्यो। उहाँका छिमेकीहरु भन्छन उ सानैदेखि शान्त र लजालु स्वभाबको मान्छे । उहाँले पूर्वी नेपालको सुन्दर शहर धरानबाट बि.एस.सी र एम.बि.एस.सम्मको अध्ययन पुरा गर्नुभएको छ । स्कूल तथा कलेज अध्ययनका क्रममा त्यस आसपास हुने साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुँदै  मनग्य पुरस्कार पनि हात पारेको थिए भन्नु हुन्छ निश्चल नेपाल ।

नियतीको खेल पनि कस्तो कस्तो ? जतीवेला उहाँलाई प्यारो बुबाको डार्याउने मायालु हात र आमाको साथ चाहिन्थ्यो निष्ठुरी दैवले ८ वर्षको बाल्यकालमै उहाँका बुबा कर्णाखर नेपाललाई टपक्क टिपेर लग्यो । सम्झना आलो छ आज पनि निश्चललाई बुबासँग विताएका ती छोटा तर रमाईला पलहरुको ।

निश्चल नेपाल भन्नु हुन्छ मेरो शैक्षिक सफलताको मुख्य श्रेय आमा र इटहरीमा बस्नुहुने ठूल्दिदी तारा दाहाललाई जान्छ । धरान हात्तिसार क्याम्पस पढ्दाको समयमा ठूल्दिदीले राम्रो सहयोग गर्नुभयो । त्यसैले नेपाल भन्नु हुन्छ म मेरो सफलताको श्रेय पनि आमा र दिदीलाई नै दिन्छु । आमा र दिदीकै आशिर्वादले म क्यानाडामा विभिन्न क्षेत्रमा सफलता हासिल गर्दैछु ।

“वाल्यकालदेखि व्यवसायिक कलाकारितामा स्थापित हुने लक्ष्य राख्नु भएका निश्चलको क्यानाडा बसाई पछि भने लक्ष्य मोडिएको छ । उहाँ फुर्सदको समयलाई कलाकारिता मार्फत सामाजिक रुपान्तरण गर्ने बताउनु हुन्छ ।”

आफुलाई कलाकारिता क्षेत्रमा लाग्ने प्रेरणा ठूलदाजुबाट मिलेको निश्चल बताउनु हुन्छ । निश्चल भन्नुहुन्छ ठूल्दाइ नाटकहरु लेख्नु हुन्थ्यो, निर्देशन पनि गर्नुहुन्थ्यो । दाजुको नाटकमा कहिले काँही सानो उमेरमा आफुले पनि खेलेको बताउनु हुन्छ निश्चल । घरका दाजुभाइ, दिदीहरु नाटकमा अभिनय गर्नुहुन्थ्यो भन्नु हुन्छ निश्चल । दाइदिदीहरु पनि नाटक क्षेत्रमै रहनु भएकोले यस क्षेत्रमा प्रवेश गरेको निश्चलको भनाई छ । निश्चल भन्नु हुन्छ म सानैदेखि नारायण गोपालका गीत सुन्ने र गाँउने गर्थे । आज पनि त्यो बानी छुटेको छैन । गीत संगितमा लागि रहेको छु । नेपालमा सडक नाटक र अन्य थुप्रै नाटकहरुमा मुख्य भुमिकामा खेलिसकेको बताउनु हुन्छ निश्चल । वहाँ भन्नु हुन्छ नेपालमा रहदा करिब एक दर्जन नाटकहरुमा मुख्य भुमिकामा खेलिसकेको थिएँ । उहाँले खेलेका केही नाटकहरुमा चितामा जन्मेका छोरा, कात्रो ओडेका मलामीहरु, तिरस्कार आदि पर्दछन् ।

निश्चलको नेपालदेखि क्यानाडासम्मको प्रगतिको फड्को

नेपालमा छँदा पढ़ाई र  नोकरी गर्नुपर्ने ब्यस्तता का कारण कलाकारितालाई व्यवसायीक रुपमा अगाडि बढाउन नसकेको निश्चल बताउनु हुन्छ । सानो छँदा भबिष्यमा बिदेश जान्छु भन्ने लक्ष्य कहिले पनि थिएन निश्चलको । धरानको BSc अध्ययन पछि काठमाडौंमा सनोफी भन्ने मल्टी नेस्नल फ़ार्मास्यूटिकल्स कम्पनीमा करिब ७ बर्ष scientific sales executive भएर काम गर्नुभएको थियो निश्चलले। काठमाडौं आएपछि pharmaceuticals company मा job र MBS पढाईमा ब्यस्त भएको कारण कलाकारिता मा राम्रो समय दिन सक्नु भएन उहाँले । काठमाडौंमा pharmaceutical company मा job गरिरहेकै बेलामा क्यानाडा apply गर्ने ईच्छा उहाँमा जाग्यो र त्यो पनि पुरा भयो । जसको कारण निश्चल विगत ८ वर्षदेखि श्रीमति र दुई सन्तानका साथ क्यानाडामा हुनुहुन्छ ।

हाल क्यानाडाको एडमन्टनमा बसोबास गर्ने निश्चल एडमन्टनमा आयोजना हुने हरेक सांस्कृतिक कार्यक्रममा गीतहरु गाउने गरेको अनि अभिनय देखाउने गरेको बताउनु हुन्छ । उहाँले क्यानाडामा आफ्नै लेखन र निर्देशनमा आधा दर्जन नाटकहरु प्रस्तुत गरिसक्नु भएको छ । नेपालले  आफ्नो मुख्य भुमिकामा रहेको अभिनेता, बुढो मान्छे र हाँस्य  पात्र समेतमा अभिनय गरिसक्नु भएको छ । क्यानाडाको एडमन्टनमा देखाइएको पहिलो नेपाली नाटक जीत हो जिन्दगी निश्चल नेपालकै लेखन र निर्देशनमा रहेको थियो जसमा निश्चलकै मुख्य भुमिका रहेको थियो।

“म मेरो सफलताको श्रेय पनि आमा र दिदीलाई नै दिन्छु । आमा र दिदीकै आशिर्वादले म क्यानाडामा विभिन्न क्षेत्रमा सफलता हासिल गर्दैछु ।”

बिदेशी भूमिमा विभिन्न चुनौतीहरु हुँदा हुँदै पनि नेपाली कला र संगितको क्षेत्रमा निरन्तर योगदान दिईरहनु भएको छ निश्चलले । उहाँले क्यानाडाको एडमन्टनको नेट कलेजबाट पावर इन्जिनियरिंगको अध्ययन पुरा गर्नुभएको छ । हाल निश्चल अल्बर्टा हेल्थ सर्भिसेजसंग आबद्ध युनिभर्सिटी अफ अल्बर्टा हस्पिटलमा मेन्टल हेल्थ बिभागमा कार्यरत हुनुहुन्छ। उहाँ नेपलिज क्यानेडियन सोसाईटी अफ एडमन्टनका बर्तमान कल्चरल प्रोग्राम डाईरेक्टर हुनुहुन्छ। कोभिड पेन्डामिकको कारण अहिले virtual सांस्कृतिक कार्यक्रमहरु संचालन भइरहेका छन् । कल्चरल डाइरेक्टर भए लगत्तै निश्चलकै अध्यक्षतामा नेपलिज सोसाइटी एडमन्टनको भवनमा पहिलो पटक गत February मा भजनर किर्तन कार्यक्रम पनि संचालन भएको हो।

एडमन्टनमा बस्नुहुने नेपाली बुबा आमा, दाजुभाइ तथा दिदिबहिनीहरुबीच हुने भेटघाट तथा आपसी सद्भाब बढाउने उद्धेश्य र यहॉ हुर्कने नेपाली बच्चाहरुलाई नेपाली परम्परा, संस्कृति सिकाउन मद्त हुने भएकोले हरेक महिना एडमन्टनमा नेपलिज सोसाइटीको भवनमा भजनर किर्तन गर्ने योजना निश्चलले बनाउनु भएको छ । अहिले महामारी कोभिडका कारण केही समयको लागी भजन र किर्तन कार्यक्रम स्थगित गरिएको बताउनुहुन्छ निश्चल। कल्चरल प्रोग्राम डाइरेक्टर भएको कारण एडमन्टनमा आयोजना हुने हरेक सांस्कृतिक कार्यक्रमको तयारी र योजना निश्चलले नै गर्नुपर्छ।

हालसालै मात्र क्यानाडाबाट निश्चलले कन्फ्युज नामकोपप गीत निकाल्नु भएको छ । पप गीतको लिरिकल भिडियो म्याक्स इन्टरटेन्मेन्ट यु ट्युब चेनल बाट रिलिज भएको हो। निश्चलको पप गीतलाई सबैले राम्रो प्रतिक्रिया दिएका छन। नेपाली कला र संगितलाई क्यानाडा र अमेरिकामा फैलाउने योजना छ निश्चलको।

अवसर र चुनौतीका पहाडहरु चढ्न हिम्मत गर्नेहरु सबैले सँधै सफलता नै प्राप्त गर्दछन भन्ने छैन तर नेपाली भूमिमा जन्मिएर एकाध वर्ष विदेशी भूमिमा परेड खेलेकाहरु  मध्ये केही त मातृभूमिलाई सिन्को जति पनि गन्दैनन् । तर बाध्यताले विदेशी भूमिमा आउनु परे पनि यहाँका पाटी, पौवा, धारा, कुवा, घाँस दाउरा, मेलापात, हाटबजारमा रमाउदै जीवन भोगाईका क्रममा स्वदेशबाट हजारौ कोस टाढा पुगे पनि मातृभूमि नेपाललाई सँधै सम्झिरहने गायक निश्चल नेपाल भन्नु  हुन्छ: “नेपाली कला र संगित मेरो रगतमा छ” ।

Facebook Comments