सप्ताहन्तमा अमेरिकामा आएको आँधीका कारण कम्तीमा ४० जनाको मृत्यु

वासिङ्टन, २०८१ चैत ४ गते सोमबार । सप्ताहन्तमा मध्य र दक्षिणी संयुक्त राज्य अमेरिकामा विनाशकारी आँधीबेहरी र हिंसात्मक तूफानले कम्तीमा ४० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
प्रभावित क्षेत्रका स्थानीय समाचार च्यानलहरूले घरहरूको छत च्यातिएको, रुखहरू ढलेका र तीव्र हावाले ट्रकहरू पल्टिएको भिडियो देखाएका छन् ।
कान्सासमा ‘गम्भीर धुलोको आँधी’ को समयमा कम दृश्यताका कारण ५० भन्दा बढी सवारी साधन समावेश भएको दुर्घटनामा आठ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
ओक्लाहोमामा राज्यभरि जङ्गली आगो र तीव्र हावा चल्दा चार जनाको मृत्यु भएको स्थानीय आपत्कालीन व्यवस्थापन विभागले जनाएको छ ।
“हामी दक्षिण र मध्यपश्चिमका धेरै राज्यलाई असर गरेको गम्भीर आँधीबेहरी र तूफानलाई सक्रिय रूपमा निगरानी गरिरहेका छौँ”, राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा आइतबार पोस्ट गर्नुभयो ।
अर्कान्सासमा नेसनल गार्ड सेना तैनाथ गरिएको उहाँले बताउनुभयो । त्यहाँ अधिकारीहरूले आँधीमा तीन जनाको मृत्यु भएको र ३२ जना घाइते भएको बताएका छन् ।
“क्षति ठूलो छ”, मिसौरीका गभर्नर माइक केहोले त्यस राज्यका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेपछि एक विज्ञप्तिमा भन्नुभयो, “घर र व्यवसायहरू ध्वस्त भएका छन्, सम्पूर्ण समुदायहरू बिजुलीविहीन छन् र पुनःप्राप्तिको बाटो सजिलो हुनेछैन ।”
यसअघि मिसौरी स्टेट हाईवे गस्तीले आँधीबेहरीसँग सम्बन्धित १२ जनाको मृत्युको पुष्टि गरेको थियो र मौसमले विनाश गरेको मरिनामा एक अर्कामाथि थुप्रिएका डुङ्गाहरूका तस्बिरहरू साझा गरेको थियो ।
टेक्सासमा स्थानीय अधिकारीहरूले धुलोको आँधी र आगोका कारण सडकमा दृश्यता कम भएका कारण सवारी दुर्घटनाहरूमा चार जनाको मृत्यु भएको बताएका छन् ।
नेसनल ओसेनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) का अनुसार संयुक्त राज्य अमेरिकामा गत वर्ष लगभग एक हजार आठ सय आँधीसहित दोस्रो सबैभन्दा धेरै बबन्डर देखिएको थियो । एएफपी