चीनका एक सयजना फोटोग्राफर काठमाण्डूमा
रमेश हतुवाली/काठमाण्डू, २०८१ फागुन २६ गते सोमबार । चीनका एक सयजना फोटोग्राफर काठमाण्डू आईपुगेका छन् ।

नेपाली संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’हरुको टोली हिजो (आईतबार) काठमाण्डू आईपुगेको हो । नेपाल-चीन मैत्री मञ्च, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने “लेन्स अन नेपाल” कार्यक्रमअन्तर्गत उक्त टोली काठमाण्डू आएको हो । आज साँझ काठमाण्डूमा एक भव्य साँस्कृतिक तथा सांगितीक कार्यक्रमको आयोजना गर्दै नेपाल भ्रमणमा आएका चिनियाँ फोटोग्राफरको टोलीलाई भव्य स्वागत गरिएको छ ।

सो टोलीलाई सांसद उर्मिला माझी, नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलिया लगायतले स्वागत गर्नुभएको थियो । स्वागत समारोहमा बोल्नुहुँदै उहाँहरुले चिनियाँ फोटोग्राफरको आगमनले नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण उपलब्धि हुने बताउनुभयो । सो समारोहमा नेपालको प्रख्यात साङ्गीतिक समूह सुकर्मले विभिन्न संगीतहरु प्रस्तुत गरेको थियो ।

नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा सो कार्यक्रम आयोजना गरिएको नेपाल-चीन मैत्री मञ्चका अध्यक्ष डा. कल्याणराज शर्माले जानकारी दिनुभयो । नेपालको पर्यटन प्रवर्द्धनका लागि “लेन्स अन नेपाल” एक महत्त्वपूर्ण अवसर हुने शर्माको भनाई छ ।

चिनियाँ फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिकस्थलको भ्रमण गर्दै यहाँका प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवर्द्धन गर्नेछन् । उनीहरूले फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रङ्गमय नेपालको फोटो खिच्ने राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

चिनियाँ फोटोग्राफरहरूले नेपाल भ्रमण गरेर यहाँको संस्कृति, जीवनशैली तथा परम्परागत सम्पदालाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने विश्वास गरिएको छ ।

नेपाल र चीनबीचको ऐतिहासिक कालदेखिको प्रगाढ सम्बन्धलाई सुदृढ बनाउँदै नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन यस्ता कार्यक्रमले विशेष योगदान पुग्ने सम्बन्धित क्षेत्रका विज्ञहरुको भनाइ छ ।

